
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक स्वतन्त्रता र प्रेस स्वतन्त्रता एक अर्कासँग जोडिएको बताएकी छिन् ।
३०औं विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा युनेस्कोसँगको सहकार्यमा राष्ट्रिय मानवअधिकार आयोग, नेपाल पत्रकार महासंघ र त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता विभागद्वारा आयोजित कार्यक्रममा उनले राजनीतिक स्वतन्त्रताविना प्रेस स्वतन्त्रता सम्भव नहुने बताइन् ।
नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री शर्माले भनिन्, “सङ्घीय लोकतान्त्रिक गणतान्त्रिकको सुदृढीकरणबाट मात्रै प्रेस स्वतन्त्रता सुनिश्चित गर्न सम्भव छ, अहिलेको पुस्तालाई सुन्दा पनि कथाजस्ता लाग्छ, तर कुनै यस्तो जमाना थियो, जतिबेला लेख्ने बोल्ने स्वतन्त्रताकै लागि जनताले बलिदानपूर्ण सङ्घर्ष गर्नुपरेको थियो ।”
लोकतान्त्रिक गणतन्त्रमा अधिकारको हनन गर्नु दण्डनीय भएकाले अहिले हिजोको तुलनामा धेरै हिसाबले प्रेस स्वतन्त्रता सुनिश्चित रहेको बताउँदै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग पत्रकारका लागि मात्र नभइ हरेक मानिसका लागि आवश्यक विषय भएको धारणा राखिन्।
“प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको जीवनरेखा हो । हामीले लोकतन्त्रलाई बलियो बनाउन पूर्ण प्रेस स्वतन्त्रतालाई संविधानको प्रस्तावनामै उल्लेख गरेका छौं । प्रेस स्वतन्त्रतासम्बन्धी संविधानको व्यवस्थालाई कानुनमा र कानूनलाई कार्यान्वयनमा बदल्न वर्तमान सरकार दृढ र प्रतिबद्ध छ” मन्त्री शर्माले भनिन् ।