आगामी महिना जिम्बावेमा आयोजना हुने आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा सहभागी हुने सबै १० देशको टुंगो लागेको छ । आयरल्यान्ड र बंगलादेशबीचको पहिलो एकदिवसीय खेल लगातार वर्षाका कारण रद्द भएसँगै २०२३ आइसिसी पुरुष क्रिकेट विश्वकपमा स्वत: छनोट हुने आठ टिमको टुंगो लागेको हो। खेल रद्द भएसँगै आयरल्यान्ड विश्वकप छनोटमा धकेलिएको छ भने दक्षिण अफ्रिका विश्वकपमा छनोट भएको छ।

एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपालले पनि प्रतिस्पर्धा गर्दैछ। नेपालले लिग-२ का अन्तिम १२ मध्ये ११ खेल जित्दै विश्वकप छनोटमा स्थान पक्का गरेको थियो।
क्रिकेट विश्वकप छनोटमा अब वेस्टइन्डिज, श्रीलंका, जिम्बावे, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, ओमान, नेपाल, अमेरिका, युएई खेल्ने भएका हुन् ।
आइसीसी एकदिवसीय विश्वकपमा छनोटका लागि जिम्बावेमा आयोजना हुने विश्वकप छनोट खेलमा १० राष्ट्रले सहभागीता जनाउँदै छन् । विश्वकप छनोट आगामी १८ जुन देखि ९ जुलाई सम्म आयोजना हुनेछ ।