
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई पक्राउ गर्न प्रहरी खुट्टा नकमाउने बताएका छन् । ‘दोषी जो कोही भए पनि उनीहरूलाई पक्राउ गर्न प्रहरी पछि हट्दैन,’ आईजीपी कुँवरले लोकान्तरसँगको संक्षिप्त प्रतिक्रिया दिँदै भने ।
प्रमाणले भेटेका जो कोहीलाई पनि कानूनको दायरामा ल्याउने उनकाे भनाइ छ । सत्य तथ्य र स्वतन्त्र प्रमाणहरूले पुष्टि हुने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको र अब पनि प्रमाणले भेटेका कसैलाई पनि पक्राउ गर्न प्रहरी खुट्टा नकमाउने आईजीपी कुँवरले बताए ।
‘अझै पनि त्यसमा संलग्नहरूको बारेमा थप विषय खुल्ने क्रम जारी छ । त्यसै अनुसार अभियोजन पनि हुन्छ,’ आईजीपी कुँवरले लोकान्तरसँग भने ।
प्रहरीले आज (बुधवार) बिहान पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेको छ ।
उनलाई काठमाडौं प्रहरी परिसर र अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको थियो । पूर्वगृहमन्त्री खाँणलाई काठमाडौं जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । उनीसँगै उनका निजी सचिव नरेन्द्र केसीलाई पनि पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अहिलेसम्म १२ जनालाई पक्राउ गरिसकेको छ । पूर्व उपप्रधान मन्त्री टाेपबहादुर रायमाझी फरार छन् ।
तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ, सन्देश शर्मा पोखरेल, टेकनारायाण पाण्डे र सन्दीप रायमाझी प्रहरीको हिरासतमा छन् ।
अहिलेसम्म उनीहरूविरुद्ध २० वटा जाहेरी परेको छ । १ सय ५४ जना पीडित प्रहरीको सम्पर्कमा आएका छन् ।
प्रहरीले केशव शर्मा, ललितपुर महानगरपालिका–२३ का ५० वर्षीय सानु भण्डारी, मोरङ पथरी शनिश्चरे नगरपालिका–१० का ४९ वर्षीय केशवप्रसाद दुलाल र पाँचथर फिदिम नगरपालिका–७ का ४५ वर्षीय टंककुमार गुरुङलाई २०७९ चैत १३ गते सार्वजनिक गरेको थियो ।
८१ जना पीडितहरूबाट १३ करोड ६३ लाख रूपैयाँ ठगी गरेको उजुरी परेको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।
बयानका क्रममा उनीहरूले दिएको प्रमाणका आधारमा लिस्ट बनाएर अन्यलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चैत १६ गते थप ५० जनाबाट ३ करोड २४ लाख रूपैयाँ ठगी गरेको भन्दै मोरङ पथरी शनिश्चरे नगरपालिका–१० का ४४ वर्षीय सागर राईलाई पक्राउ गरेको थियो । अपराध अनुसन्धान कार्यालयका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा २०७९ जेठ १८ गते रामकुमार रेग्मी र गजेन्द्र बुढाथोकीले उजुरी दिएका थिए ।