
‘लोकान्तर राउण्ड अप’म पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई नेपाली कांग्रेसले कारवाही नगर्ने भएको छ ।
बिहीवार बसेको पार्टी पदाधिकारी बैठकमा खाँणको विषयमा सामान्य छलफल भए पनि तत्काल कारवाही आवश्यक नभएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।
पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सहमहामन्त्री परियारले कांग्रेसले अनुसन्धानलाई सघाइरहेको बताएका छन् । पक्राउ परेका व्यक्ति अभियुक्त मात्रै भएको र दोषी भन्न नमिल्ने उनले बताए ।
००००
प्रहरीले अनुसन्धान गरिरहेको नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १२ थुनुवालाई विभिन्न हिरासतमा राखिएको छ ।
प्रहरी स्रोतका अनुसार पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई काठमाडौं जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएको छ भने उनका निजी सचिव नरेन्द्र केसीलाई लैनचौर वृत्तको हिरासतमा राखिएको छ ।
नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई सिंहदरबार वृत्तको हिरासतमा राखिएको छ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दिप रायमाझीलाई टेकु परिसरको हिरासतमा राखिएको प्रहरी स्रोतले जनाएको छ ।
यसैगरी तत्कालीन गृहमन्त्री एवं नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार ईन्द्रजित राईलाई टेकु परिसरको हिरासतमा राखिएको छ ।
दाङका सन्देश शर्मालाई दरबारमार्ग वृत्तको हिरासत, मोरङका केशव दुलाललाई कालिमाटी वृत्तको हिरासत, मोरङका सागर राईलाई टेकु परिसरको हिरासत, ललितपुरका सानु भण्डारीलाई जनसेवा वृत्तको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
पाँचथरका कुमार गुरुङलाई जनसेवा वृत्तको हिरासत, टोखाका रामशरण केसीलाई टेकु परिसरको हिरासत, सुनसरीका गोविन्द चौधरीलाई टेकु परिसरको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
००००
मुलुकको अर्थतन्त्रमा देखिएका समस्या र चुनौतीबीच पनि आर्थिक परिसूचकहरू सकारात्मक देखिएका छन् ।
बुधवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा चालू आर्थिक वर्षको ९ महिनामा प्रायः सबै सूचकहरू सकारात्मक देखिएका हुन् ।
पछिल्लो समय मुलुकको अर्थतन्त्र संकुचनमा गएर मन्दीतर्फ उन्मुख हुन लागेको विश्लेषण हुन थालेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको मुलुकको आर्थिक वृद्धिदरको प्रक्षेपण २।१६ प्रतिशतमा सीमित हुने देखिएको छ तर सरकारले चालू आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य लिएको थियो ।
००००
बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेलले एक साताभित्र प्रदेश सरकारले पूर्णता पाउने बताएका छन् ।
आज विदुरमा प्रेस सेन्टर नुवाकोटले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले केन्द्रीय नेतृत्व तहबाट केही निर्णय गर्नुपर्नेमा मन्त्रिपरिषद विस्तार रोकिएको जानकारी दिँदै एक हप्ताका सरकारले पूर्णता पाउने बताए ।
००००
नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा ‘मिसन ग्रासरुट’बारे सातै प्रदेशबाट पेश भएका प्रतिवेदनमाथि समूहगत छलफल हुने भएको छ ।
बिहीबार बैठकको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने सातै प्रदेशसहित आयोग अध्यक्षहरुले प्रतिवेदन पेश गरेका छन् । ती प्रतिवेदनमाथि शुक्रबार समूहगत छलफल हुने पार्टी उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न उपनिर्वाचनको परिणामले वर्तमान सत्ता गठबन्धनको विकल्प एमाले भन्ने तथ्यमा प्रश्न उठेको बताएका छन् ।
केन्द्रीय कमिटी बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा ओलीले सीट संख्यामा तलमाथि नभए पनि मंसिरको तुलनामा पार्टीको मत घट्नु गम्भीर विषय भएको बताएका हुन् ।
००००
निर्वाचन आयोगले आर्थिक वर्ष २०७८–८९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्ने राजनीतिक दलहरूलाई निर्देशन दिएको छ ।
वैशाख २७ गतेको आयोगको निर्णयअनुसार तोकिएको समयसीमा भित्रै लेखापरीक्षण प्रतिवेदन पेस गर्ने ८२ राजनीतिक दललाई आयोगमा पेस गरेको लेखापरीक्षण प्रतिवेदन सात दिनभित्र कार्यालय वा वेबसाइट, आमसञ्चार माध्यम (पत्रपत्रिका, रेडियो, टेलिभिजन आदि), सामाजिक सञ्जाल (फेसबुक, ट्विटर, ईन्सटाग्राम) का माध्यमबाट सार्वजनिक गर्ने निर्देशन दिएको हो ।
००००
सिन्धुपाल्चोकको चौतारा साँगा चोक गढी नगरपालिका–७ झ्याडीमा जन्ती लिएर हिँडेको बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।
जलबिरे खमारेबाट जन्ती लिएर इन्द्रावती गाउँपालिका जाँदै गरेको हेलम्बु यातायातको बा २ ख ८४२२ नम्बरको गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ । इन्द्रावती–१० पाटीगाउँतर्फ हिँडेको गाडी चौतारा साँगा चोक गढी नगरपालिका–७ झ्याडीमा ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
००००
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याइने बताएका छन् ।
नेकपा एकीकृत समाजवादीका तथा जनवर्गीय सङ्गठनका नेताहरूसँगको छलफलमा उनले दोषीलाई कुनै पनि हालतमा नछाड्ने र निर्दोष कुनै पनि हालतमा नफस्ने गरी सरकार अगाडि बढेको बताए ।
००००
तेह्रथुमको छथर गाउँपालिका वडा नम्बर ३ पन्चकन्यामा आगलागीमा परेर आमाछोराको मृत्यु भएको छ । सोही वडाकी ५५ वर्षिया दिल कुमारी भुजेल र उनकै छोरा १६ वर्षीय कुमार भुजेलको निधन भएको इलाका प्रहरी कार्यालय वसन्तपुरका प्रहरी निरीक्षक हेमराज ओलीले बताए ।
००००
यसैबीच आगोले जलेर मृत्यु भएका अर्घाखाँचीको भुमिकास्थान नगरपालिका ढाकाबाङ्गका चार जनाको सामूहिक दाहसंस्कार गरिएको छ ।
००००
गण्डकी प्रदेशमा मन्त्रालयको कार्य विभाजन हेरेफेर हुने भएको छ । तर मन्त्रालयको सङ्ख्या भने सातभन्दा नबढ्ने प्रदेश सरकारले प्रष्ट पारेको छ ।
अघिल्लो सरकारले मन्त्रालयको सङ्ख्या १२ बाट घटाएर सातमा झारेको थियो । नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रालय घटाउँदा कार्य विभाजन नमिलेको देखिएकाले केही परिमार्जन गर्न लागिएको बताए ।
००००
‘ज्यूँदो शहीद’ भनिने काभ्रेका मुकेश कायस्थको निधन भएको छ । उनको उपचारको क्रममा बनेपास्थित शिर मेमो रियल अस्पतालमा बुधवार साँझ निधन भएको परिवारले जनाएको छ ।
जनआन्दोलन २०६२–०६३ मा घाइते भएका उनी त्यसबेलादेखि नै ओछ्यानमा पर्दै आएका थिए । २०६२ चैत २७ गते बनेपाको तीन दोबाटोमा प्रहरीले चलाएको गोली लागेर घाइते भएयता उनको शरीर नचल्ने भएको थियो ।
००००
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जावलाखेल युथ क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित च्यासल मैदानमा बिहीबार भएको खेलमा जावलाखेलले फ्रेन्ड्स क्लबलाई ४–१ गोलअन्तरले पराजित गरेको हो । जावलाखेलको जितमा एनकोटो मासोआबीले दुई गोल गरे भने राहुल र फोडे फोफानाले समान एक–एक गोल गरे ।
००००
शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार सामान्य घटेको छ। नेप्से परिसूचक तीन दशमलव ३४ अङ्कले ओरालो लागेर एक हजार आठ सय ३८ दशमलब ५९ मा पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।