
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सांसद टोपबहादुर रायमाझी पक्राउ परेको विषयमा सदनलाई जानकारी गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख घिमिरेले आइतबार साँझ काठमाडौँ बुढानिलकण्ठबाट सांसद रायमाझी पक्राउ परेको जानकारी गराएका हुन् ।
नक्कली शरणार्थी प्रकरणमा जोडिएका सांसद रायमाझी पक्राउ परेको विषयमा नेपाल प्रहरीले आजै सभामुखलाई जानकारी गराएको थियो ।
प्रहरीको पत्र लगत्तै सभामुख घिमिरेले सांसद रायमाझी पक्राउका बारेमा सदनलाई जानकारी गराएका हुन् । प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को १ बमोजिम सदनलाई जानकारी गराउनुपर्ने प्रावधान छ ।
नक्कली ठगी प्रकरणमा रायमाझीविरुद्ध २० वैशाखमा पक्राउ पुर्जी जारी भएको थियो । तर ११ दिन फरार भएपछि उनी आइतबार राति काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका थिए ।
रायमाझीले ४ मंसिरको निर्वाचनमा अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका थिए ।