
भारतको आसाम पुर्याई नाबालिका बेचबिखन गरेको अभियोगमा म्याग्दीको रघुगंगा गाउँपालिका–३ बस्ने ३० वर्षीया अप्सरा भन्ने एलिना खत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंमा बस्ने आफन्तकोमा जान्छु भनि नुवाकोटबाट बसमा जाने क्रममा ती नाबालिकालाई बसमा सँगै रहेका पुरूषले खानेकुरा तथा पानीमा बेहोस हुने औषधि मिसावट गरी खुवाई बेहोश बनाई भारत आसामको कछर सिल्चर भन्ने स्थानको रेड लाइट एरियाको कोठीमा पुर्याई बेचबिखन गरी जबरजस्ती वेश्यावृत्तिमा लगाई राखेको अवस्थामा नेपाल प्रहरी, भारतीय प्रहरी र माइती नेपालको सहयोगमा उद्धार गरिएको थियो ।
थप अनुसन्धानको क्रममा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा घटनामा संलग्न एलिना खत्रीलाई झापाबाट पक्राउ गरेको छ ।
उनीउपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ भने कसूरमा संलग्न अन्य फरार आरोपीको समेत खोजी भइरहेको छ ।