
राष्ट्रियसभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ स्वीकृत भएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले प्रस्तुत गरेको सो अध्यादेश सर्वसम्मतिबाट स्वीकृत भएको हो ।
विधेयक फिर्ता
सरकारले कोरोना महामारी नियन्त्रण गर्न ल्याएको ‘कोभिड–१९ सङ्कट व्यवस्थापन विधेयक, २०७८’ संसद्बाट फिर्ता लिएको छ ।
बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतका तर्फबाट श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री भण्डारीले उक्त विधेयक फिर्ता लिने अनुमतिको प्रस्ताव पेस गरेका थिए । सो प्रस्तावसभाको सर्वसम्मतिबाट स्वीकृत भएको हो ।
यस्तै राष्ट्रियसभाको बैठकले तत्कालीन संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शोक प्रस्ताव प्रस्तुत गरेका थिए । नेपाली कांग्रेसका नेता एवं संविधानसभा सदस्य बस्नेतको गत वैशाख २९ गते निधन भएको थियो ।
लामो समयदेखि अस्वस्थ रहेका उनको ७८ वर्षको उमेरमा आफ्नै निवासमा सिफलमा निधन भएको थियो ।