२६ असार २०८३, शुक्रबार
सरसर्ती २४ घण्टा

नीति तथा कार्यक्रम : संसदमा आक्रामक रुपमा प्रस्तुत हुने एमालेको तयारी

नीति तथा कार्यक्रम : संसदमा आक्रामक रुपमा प्रस्तुत हुने एमालेको तयारी

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ । बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ । तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नीति तथा कार्यक्रमको सम्बन्धमा आक्रामक रुपमा प्रस्तुत हुने नीति लिएको छ । 

शनिबारको संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई नीति तथा कार्यक्रममा पार्टीका धारणा कडाइका साथ प्रस्तुत गर्न निर्देशन दिइसकेका छन् । 
‘एमालेको भूमिका अलि लुलोलुलो भयो । नुन खाएको कुखुरा जस्तो, झोक्राए जस्तो के भएको भनेर भन्ने गरेका छन्’, बैठकमा उनले भनेका थिए, ‘त्यसैले हाम्रो प्रस्तुति संसद्मा कडा हुनुपर्दछ, । संसद्मा जति समय पाउनुहुन्छ । आफ्ना कुरा कडाइका साथ राख्नुहोला ।’

ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा संसद्बाट पारित गर्न पार्टीले नसघाउने बताएका छन् ।  सरकारको नीति तथा कार्यक्रम अस्पष्ट, अन्योलग्रस्त र दिशाहीन तथा राजनीतिक, सामाजिक, आर्थिक कुनै पनि समस्या समाधान नगर्ने आरोप लगाउँदै अध्यक्ष ओलीले पारित नगर्नेतर्फ आफ्नो पार्टीको नीति हुने बताए । 
००००
यसैबीच एमाले अध्यक्ष केपी ओलीले नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका लाने गिरोहको ठगीबारे आइतवार बस्ने प्रतिनिधिसभाको बैठकमा बोल्ने बताएका छन् । 
आइतवार नीति तथा कार्यक्रममा छलफल गर्नुपूर्व विशेष समय लिएर ओलीले प्रतिनिधिसभामा बोल्ने तयारी गरेका हुन् । यो ठगी प्रकरणबारे ओलीले ४ जेठमा बस्ने प्रतिनिधिसभा बैठकमा बोल्ने बताएका थिए । तर उनले त्यो दिन बोल्ने कुनै कार्यक्रम बन्न सकेन । तर ओलीले शनिवार बसेको पार्टीको संसदीय दलको बैठकका आइतवार संसदमा बोल्ने बताएका हुन् ।
००००
नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सचिव भागवत विश्वासीसहितका नेताहरू एमालेमा फर्किएका छन् ।
सचिव विश्वासीसँगै केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, केन्द्रीय सदस्य शारदा स्वर्णकार, लुम्बिनी प्रदेश कमिटी सदस्य अमित शर्मा, दाङ जिल्ला अध्यक्ष सुरामणि बेल्वासे, उपाध्यक्ष चूर्णबहादुर वली, सचिव डिल्ली डाँगी र उपसचिव जानका रेग्मीसहितका नेताहरू एमालेमा फर्किएका हुन् ।
००००
अर्थमन्त्री डा प्रकाशशरण महत र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठबीच भनाभन भएको छ । शनिवार सिंहदरबामा बसेको अर्थ समितिको बैठकमा सांसद श्रेष्ठले बोल्ने क्रममा पुराना कुराहरू दोर्होयाएको भन्दै अर्थमन्त्रीले जिज्ञासामात्रै राख्न भनेपछि भनाभन भएको हो ।
००००
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद विस्तार गरेका छन् । 
शनिबार मुख्यमन्त्री शाहको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले शनिवार पृथ्वीबहादुर सिंह, झपट साउद र रमेश धामीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
००००
शहरी विकासमन्त्री सीता गुरूङले ललितपुरको भैंसेपाटीमा निर्माणाधीन मन्त्री निवास भवनको काम यथासक्य पूरा गर्न निर्देशन दिएकी छन् । 
शनिबार आयोजनास्थलमा पुगेर निरीक्षण र भवन निर्माणको प्रगतिबारे जानकारी लिएपछि मन्त्री गुरूङले निर्माण व्यवसायीलाई सम्झौताबमोजिम बाँकी काम यथासक्य पूरा गर्न निर्देशन दिएकी हुन् ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोसिस भइरहेको बताएका छन् । 
शनिवार काठमाडौंमा अखिल नेपाल ट्रेड युनियन महासंघको पदास्थापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकथरि मान्छेहरू परिवर्तनलाई उल्ट्याउने र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोसिस गरिरहेको बताएका हुन् ।
००००
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारको अन्त्य सरकारको पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन्  ।
जनकपुरधाम विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले राष्ट्रिय समस्याका रूपमा रहेको भ्रष्टाचारको अन्त्य गर्नु सरकारको पहिलो प्राथमिकता हुनुपर्ने जिकिर गरे ।
००००
काठमाडौंमा एक महिलाले आत्महत्या गरेकी छन् । रामेछाप घर भई काठमाडौं चन्द्रागिरि नगरपालिका ९ मच्छेगाउँ बस्दै आएकी ३६ वर्षीय शान्ति श्रेष्ठले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेको प्रहरी बिट थानकोटले जनाएको छ ।
००००
झापाको भद्रपुर विमानस्थलबाट १ महिलालाई प्रहरीले पक्राउ गरेको छ । भित्री वस्त्र पेन्टीभित्र सेनेटरी प्याडमा लुकाएर काठमाडौँ लैजान लागिएको ब्राउनसुगर सहित प्रहरीले कमल गाउँपालिका वडा नम्बर ७ घर  काठमाडौँको नारायणस्थान बस्ने एन्जल राईलाई शनिवार पक्राउ गरेको हो।
००००
पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । वसन्त ऋतुको जारी आरोहणमा बुढामगर जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरोमा पुगेका हुन् । 
००००
सरकारी अनुमतिबिना मनोमानी तरिकाले पोल्याण्ड लैजाने तथा त्यहाँको रोजगारीका बारेमा अभिमुखीकरण गर्न खोज्ने दुई जना विदेशी नागरिकलाई प्रहरीले  पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेलारुस स्थायी ठेगाना भई काठमाडौँस्थित मेरियट होटल बस्दै आएकी ३० वर्षीया रीता फियाडोसिक तथा सोही ठाउँका ३७ वर्षीय ओलिग फियाडोसिक रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्