
सभामुख देवराज घिमिरेले नुवाकोटलाई राजधानीसँग सहजरूपमा जोड्नका लागि सुरुङमार्गले पूर्णता पाउनुपर्ने बताएका छन् ।
आज दुप्चेश्वर गाउँपालिका–६ रामतीस्थित दुप्चेश्वर माध्यमिक विद्यालय परिसरमा वामपन्थी नेता गणेश पण्डितको अर्धकदको सालिक अनावरण गर्दै उनले जिल्लाको विकासप्रति सबै दलले चासो दिनुपर्ने बताए।
काठमाडौँको टोखा हुँदै नुवाकोट आएका सभामुख घिमिरेले भने, “टोखा–छहरे सुरुङमार्ग निर्माणको कुरा धेरै सुनिएको छ । सुरुङमार्ग चाँडो निर्माण हुनु आवश्यक छ । सुरुङमार्ग निर्माण भएमा नुवाकोटको कायापलट हुनेछ ।”
सभामुख घिमिरेले इलामका किसानको जीवनस्तर उकास्न अलैँची, अदुवा खेतीको भूमिका भएको जस्तै नुवाकोटका किसानको जीवनस्तर उकास्न पनि सुरुङमार्गको भूमिका हुने बताए ।