
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाल-भारत सीमा विवाद समाधानतिर गएको बताएका छन् ।
चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले दिल्लीमा शुक्रवार बिहान नेपाली सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सीमा समस्या समाधानका लागि विकल्पमा कुरा शुरू भएको बताएका हुन् ।
'सीमा समस्याबारे यसपटक गम्भीर कुरा भएको छ। सीमा समस्या समाधान गर्नुपर्छ भनेर हामीले मात्रै भन्थ्यौं, अहिले भारतले पनि भन्यो । भारतीय मिडियामा पनि कालापानीबारे चर्चा भएको छ,' उनले भने, 'सीमा विवादको दीर्घकालीन समाधानका लागि हामीले विभिन्न विकल्पबारे कुरा गरेका छौं । एउटा भन्ने गरिन्छ नि बंगलादेश विकल्प, बंगलादेश र भारतबीच लामो समयदेखि समस्या थियो, तर उनीहरूले हल गरे । एउटा त्यो मोडेल हुन सक्छ ।'
भारतले नेपाललाई पूर्वी सीमाबाट सिधै बंगलादेश पुग्ने बाटो दिँदा कालापानी क्षेत्रको विकल्पबारे सोच्न सकिन्छ त भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रचण्डले त्यो पनि एउटा विकल्प हुन सक्ने बताए ।
'हिजोबाट कालापानीबारे विकल्पहरूमा सोच्न शुरू भएको छ। विकल्पबारे सोच्न शुरू हुनु नै 'ब्रेक थ्रु' हो । बंगलादेशसम्म सिधै जाने बाटो हामीलाई चाहिएको छ भन्ने कुरा नेपालले उहिल्यैदेखि उठाइरहेको छ। त्यो हाम्रो आवश्यकता पनि हो र चाहना पनि,' उनले भने, 'त्यसबारेमा कहीँ म्यानेज गर्न सक्ने हो भने पनि एउटा हल हुन सक्छ। हाम्रा विज्ञहरूको सुझाव त्यो आउने पनि गरेकै छ। त्यो पनि विकल्प हुनसक्छ। अथवा अरू विकल्प पनि हुन सक्छन् ।'
दुईपक्षीय छलफलमा ईपीजीबारे भने कुरा नभएको उनले बताए ।