२८ जेठ २०८३, बिहीबार

हिमपहिरोमा बेपत्ता भएका ३ जनाको ३२ दिनपछि शव भेटियो

जेठ २४, २०८०
काठमाडौं
हिमपहिरोमा बेपत्ता भएका ३ जनाको ३२ दिनपछि शव भेटियो

हिउँपहिरोमा बेपत्ता भएका तीन जना यार्सा सङ्कलक ३२ दिनपछि मृतावस्थामा फेला परेका छन्। 

मुगुको पाटनमा यार्सागुम्बा टिप्न गएका जुम्लाको पातारासी गाउँपालिका–२ तल्फि गाउँका १५ जनामध्ये ४० वर्षीय तारासिंह सार्की, ३५ वर्षीय पुन्न सार्की र ३५ वर्षीय वीर बोहोराको शव सोमबार फेला परेको मुगुस्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए। 

मुगुको मुगुम कार्मारोङ गाउँपालिका–२ च्यार्खु लेखमा गत वैशाख २२ गते यार्सा सङ्कलन गर्न गएका उनीहरु हिउँपहिरोमा परी बेपत्ता भएका थिए। 

बेपत्तामा परेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालय र पातारासी गाउँपालिकाको समन्वयमा कर्णाली प्रदेश सरकारले हेलिकप्टरसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको टोलीले दुई हप्तासम्म खोजी गर्दा शव फेला परेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए। 

लगातारको हिमपातका कारण पाटनलगायत हिमालमा बाक्लो हिउँ जमेकाले खोजीमा समस्या भएको उनले बताए।

‘बेपत्ता भएकाको तीनै जनाको शव घटनास्थलभन्दा दुई किलोमिटर तल ल्याएका थियौँ’, उनले भने। शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुबाट चिकित्सकको टोली शव राखिएको स्थानमा पुगेर परीक्षण गरेपछि मृतकका आफन्तलाई शव बुझाइ दाहसंस्कार गरिएको प्रनाउ बस्नेतले बताए। रासस 

salt training

कमेन्ट गर्नुहोस्