११ साउन २०८३, सोमबार

मविरुद्ध पापी मनहरूको घेराबन्दी छ : मन्त्री किराती

जेठ २५, २०८०
काठमाडौं
मविरुद्ध पापी मनहरूको घेराबन्दी छ : मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूविरुद्ध पापी मनहरूले घेराबन्दी गरेको बताएका छन् ।

खोटाङको दिक्तेल बजारमा जडान गरिएको अग्नि नियन्त्रण यन्त्र (फायर हाइड्रेन्ट गेट भल्भ) उद्घाटन कार्यक्रममा उनले ३ वटा सानो जहाज किन्ने प्रक्रिया थालेपछि पापी मन भएकाले घेराबन्दी गरिरहेको बताए ।

‘घाटामा गएको नेपाल वायुसेवा निगमलाई मैले मन्त्रालय सम्हालेको करीब ३ महिनामै ४ अर्ब ऋण घटाएको छु । अहिले हामी ३ वटा जहाज किन्ने प्रक्रियामा छौं । हवाईजहाज किन्न नदिन संसारभरका पापी मनहरूले घेराबन्दी गरिरहेका छन्,’ मन्त्री किरातीले भने, ‘तपाईंहरूको साथ पाएँ भने प्रक्रिया र प्रणालीमा पारदर्शी तरिकाले ५ पैसा घोटाला हुन नदिने गरी जहाज ल्याउँछौं ।’

मन्त्रालयले खरिद गरेर ल्याइने २ वटा जहाज पश्चिम नेपालमा र एउटा पूर्वी नेपालको विराटनगरमा राखेर उडान भर्ने व्यवस्था मिलाइने मन्त्री किरातीले जानकारी दिए । ‘हवाईजहाज अभावमा गौचरणमा परिणत भएका देशका २२ वटा विमानस्थलमा १ जना सुत्केरी भए पनि उडान भर्ने गरी तयारी थालिएको छ,’ मन्त्री किरातीले भने, ‘म मन्त्री भएर जाँदा हवाईजहाज त बेहोस अवस्थामा भेन्टिलेटरमा सुतिरहेको रहेछ । त्यसलाई हामी उपचार गर्दैछौं । २२ वटा विमानस्थल गौचरणमा परिणत भएको छ । कारण जहाजमाथि ठूलाठूला भ्रष्टाचार भए । पापीको आँखा लागे, लुट्नैसम्म लुटिए । खाने, पिउने र रमाउने ठाउँ त्यही मन्त्रालयलाई बनाए । अब यसरी चल्न दिन्नँ !’

उनले खोटाङको तीनवटै विमानस्थलमा नियमित उडान/अवतरण गर्नेगरी तयारी थालिएको जानकारी दिए । प्राधिकरणमा विमान नभएकै कारण उडान/अवतरण हुन नसकेको जानकारी दिँदै मन्त्री किरातीले अबको केही समयपछि नै खोटाङका ३ वटै विमानस्थलमा नियमित उडान/अवतरण हुने विश्वस्त पारेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्