
नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले असार १ गतेदेखि गंगबुस्थित बसपार्कबाट मात्रै यात्रुबाहक बस छुट्ने व्यवस्था अन्त्य गर्न काठमाडौं महानगरपालिका र सम्बन्धित मन्त्रालयलाई आग्रह गरेका छन् ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उपत्यका बाहिर जाने लामो र मध्यम दूरीमा चल्ने यात्रु बस नयाँ बसपार्कबाट छुट्नुपर्ने र जडिबुटीदेखि गंगबुसम्म रोक्नै नपाउने बाध्यकारी व्यवस्था अव्यवहारिक रहेको बताए ।
जडिबुटीमा आएका बस गंगबु पुग्नैपर्ने बाध्यकारी व्यवस्था अन्त्यगरी जडिबुटी बसपार्क यथासक्य सम्पन्नगरी सञ्चालनमा ल्याउन सम्बन्धित मन्त्रालय र काठमाडौं महानगरपालिकाको उनले ध्यानाकर्षण गराए ।
‘हालै काठमाडौं महानगरपालिकाले उपत्यकाबाहिर जाने लामो र मध्यम दूरीमा चल्ने यात्रु बसले आगामी असार १ गतेदेखि गंगबुस्थित नयाँ बसपार्कबाट छुट्नुपर्ने र जडिबुटीदेखि गंगबुसम्म रोक्नै नपाउने बाध्यकारी व्यवस्थाको सूचना गरेको छ,' उनले भने, 'टिकट काट्न पनि त्यहीँ पुग्नुपर्ने नियम झनै अव्यवहारिक छ । जडिबुटीमा आएका बस गंगबु पुग्नैपर्ने बाध्यकारी व्यवस्थाको अन्त्यगरी जडिबुटी बसपार्क यथाशक्य सम्पन्न गरी सञ्चालनमा ल्याउन सम्बन्धित मन्त्रालय र काठमाडौं महानगरपालिकाको गम्भीर ध्यानाकर्षण गराउँछु ।’