२३ जेठ २०८३, शनिबार

हेटौँडा र कर्णालीलाई रग्बी सेभेन्सको उपाधि

जेठ २७, २०८०
काठमाडौं
हेटौँडा र कर्णालीलाई रग्बी सेभेन्सको उपाधि

यू–२० राष्ट्रिय रग्बी सेभेन्सको उपाधि कर्णाली रग्बी क्लब र हेटौँडा रगर्सले जितेका छन् । 

इलामको माई नगरपालिका–४ शुक्रबारे खेलमैदानमा आज सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कर्णाली र महिलातर्फ हेटौँडा विजयी भएको हो । 

कर्णालीले कटारी रग्बी क्लबलाई १५–५ अङ्कले तथा हेटौँडाले हिमालयन टाइगर रग्बी क्लबलाई १४–५ अङ्कले पराजित गर्दै उपाधि जितेको हो । 

विजेता दुवै टोलीले रु ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेता दुवै टोलीले रु ३० हजार, मेडल र प्रमाणपत्र पाए । 

प्रतियोगिताका विजेता तथा उपविजेतालाई माई नगरपालिकाका नगरप्रमुख खम्बसिंह लिम्बू, नेपाल रग्बी सङ्घका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरी, महासचिव गोविन्द घिमिरे, उपाध्यक्ष किरण गिरी, केन्द्रीय सदस्य सन्तकुमार मेहतालगायतले पुरस्कार प्रदान गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुरुषतर्फ कर्णालीका रोहन डङ्गोल र महिलातर्फ हेटौँडाकी पुष्पा खड्का घोषित भए । 

दुवैजनाले जनही रु पाँच हजार पुरस्कार प्राप्त गरे । यस्तै उदीयमान खेलाडी कटारीका नवीन दर्लामी र विडिसा राई घोषित भए ।  

नेपाल रग्बी सङ्घको आयोजनामा भएको उक्त प्रतियोगिताका लागि प्रदेश रग्बी सङ्घ, जिल्ला रग्बी सङ्घ इलाम र माई नगरपालिकाले सहजीकरण गरेको थियो । 

प्रतियोगितामा पुरूष र महिलातर्फ कोशी प्रदेशबाट कटारी रग्बी क्लब, मधेश प्रदेशबाट बर्दिबास रग्बी क्लब, बागमती प्रदेशबाट हेटौँडा रग्स , कर्णाली प्रदेशबाट कर्णाली रग्बी क्लब र राष्ट्रिय क्लब हिमालयन टाइगर रग्बी सहभागी भएका थिए । 

आगामी अगष्तमा नेपालमा हुने यू–२० एसिया रग्बी सेभेन्सका लागि नेपाली टोली छनोट गर्न प्रतियोगिता आयोजना गरिएको नेपाल रग्बी सङ्घका वरिष्ठ उपाध्यक्ष गिरीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्