३१ असार २०८३, बुधबार

कोशी प्रदेशसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गरिँदै

जेठ ३१, २०८०
विराटनगर
कोशी प्रदेशसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गरिँदै

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रमलाई बुधवार बस्ने प्रदेशसभा बैठकमा पेश गर्दैछ ।

बजेट असार १ गते ल्याउनुपर्ने कानूनी बाध्यता छ । 

कोशी प्रदेश सरकारको मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले वार्षिक नीति तथा कार्यक्रमलाई छलफलका लागि स्वीकृति गर्ने निर्णय गरेको छ । नीति तथा कार्यक्रम कोशी प्रदेशसभाको चालू अधिवेशनमा जेठ ३१ गते दिउँसो १ बजे सम्बोधन गरी प्रस्तुत गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

यसअघि सरकारबाट नेकपा माओवादी केन्द्र र जसपा बाहिरिएपछि सरकार अल्पमतमा परेको छ । अल्पमतमा परिसकेको सरकारले नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्दा फेल हुने र सरकार ढल्नसक्ने चुनौती  रहेका कारण गत जेठ २३ गते अनिश्चितकालका लागि संसद् स्थगित भएको थियो । स्थगित संसद् सञ्चालन गराउन र प्रदेश सभाबाटै नीति तथा कार्यक्रम र बजेट ल्याउन विपक्षी ४ दलीय गठबन्धनले माग गरेका थिए ।

संवैधानिक बाध्यताका कारण सरकारले संसद् बैठक आह्वान गर्न सभामुखलाई भनेको हो । संविधानको धारा १८४ को उपधारा (२) मा हरेक वर्षको पहिलो अधिवेशनमा प्रदेश प्रमुखले प्रदेश सभालाई सम्बोधन गर्ने व्यवस्था स्पष्ट किटान गरिएको छ । हालसम्म कोशी प्रदेशको दोस्रो संसद्को पहिलो अधिवेशनमा प्रदेश प्रमुख पर्शुराम खापुङले सम्बोधन गरेका छैनन् । 

संसद् अधिवेशन अन्त्य गर्न सरकारलाई अप्ठ्यारो कानूनी अड्चन परेको थियो ।

यसैगरी संसद् अधिवेशन अन्त्य नभएको तर स्थगित भएको बेला सरकारले अध्यादेश ल्याउन पनि पाउँदैन । प्रदेशको अध्यादेश सम्बन्धी व्यवस्था संविधानको धारा २०२ मा व्यवस्था छ । उक्त धाराको उपधारा (१) मा प्रदेशसभा अधिवेशन नचलेको अवस्थामा तत्काल केही गर्न आवश्यक भएमा मात्र अध्यादेश जारी गर्न पाइने व्यवस्था छ । अहिले चलिरहेको अधिवेशन नै बजेट अधिवेशन हो । यो अवस्थामा बजेट अधिवेशनलाई अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउनु असंवैधानिक हुने अवस्था थियो । 

विपक्षी गठबन्धनका कतिपय नेताहरूले नीति तथा कार्यक्रम प्रदेश प्रमुखबाट प्रदेश सभामा प्रस्तुत गरेर संसद् अधिवेशन अन्त्य गर्ने र अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको आशंका गरेका छन् । 

यता सत्तापक्षकै सांसदहरूले पनि प्रदेशलाई बजेटविहीन बनाउन नहुने भएकाले संवैधानिक बाटो अपनाउनुपर्ने बताउँदै आएका छन् । संसद्बाट ल्याउन नमिल्ने भए सरकारले संवैधानिक बाटो अपनाउने नेकपा एमाले संसदीय दलका नेता रेवतीरमण भण्डारीले बताए । आर्थिक मामिला मन्त्रालय समेत सम्हालेका मुख्यमन्त्री हिक्मत कार्कीले सरकार संसद्बाटै बजेट ल्याउने तयारीमा रहेकाले सबै दलसँगको छलफलपछि मात्रै निर्णय गर्न सकिने बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्