
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले ‘वान एक्स बेट’मार्फत अनलाइन सट्टेबाजी गराउने गिरोहका ५ जना एजेन्टलाई पक्राउ गरेको छ ।
जेठ ३० गते उपत्यकाका मैजुबहाल, पेप्सीकोला, ठिमी र सानोभर्याङबाट ५ जनालाई पक्राउ गरिएको प्रहरीले बुधवार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
पक्राउ परेकामध्ये कैलालीको लम्कीचुहा नगरपालिका– १० का २९ वर्षीय दिनेश खड्काले अनलाइन बेटिङमा ६५ करोड ७७ लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ । दिनेशकी श्रीमती काभ्रेको पाँचखाल नगरपालिका– ४ की २८ वर्षीया अनिता धिताललाई पनि प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका– ४ का २७ वर्षीय दीपेश श्रेष्ठलाई पनि पक्राउ गरेको छ । उनले ५ करोड ५४ लाख ६६ हजार रुपैयाँ कारोबार गरेको देखिएको छ ।

५४ लाख रुपैयाँ कारोबार देखिएका कञ्चनपुरको भीमदत्त नगरपालिका– १८ का दिनेश चन्द र २ करोड ९८ लाख ९६ हजार कारोबार देखिएका २४ वर्षीय आशिष लामिछानेलाई पनि पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले बताए ।
प्रहरीका अनुसार खड्का दम्पतीले विभिन्न अनलाइन गेम खेलाएर गरेर पैसा ट्रान्सफर गर्ने गरेका थिए । उनीहरूले रेड्डी एपमा किट्टु ग्रुप सञ्चालन गरेर कारोबार समेत गर्दै आएको पाइएको प्रहरीले जनाएको छ । उनीहरूले क्रिप्टो करेन्सीको कारोबार समेत गरेको पाइएको छ ।
पक्राउ परेकाहरूले फरक–फरक सीमकार्ड प्रयोग गरी कनेक्ट आईपीएसमार्फत वान एक्स बेटका एजेन्टहरूलाई पैसा पठाउने गरेको खुलेको प्रहरीले जानकारी दियो ।
खड्का दम्पती अनलाइनमार्फत सट्टेबाजी गराउने ‘मास्टर एजेन्ट’ रहेको प्रहरीले जनाएको छ ।

यस्तै दीपेश श्रेष्ठले पनि सामाजिक सञ्जाल ह्वाट्स एपमार्फत विभिन्न गेम्लिङका ग्राहक भेरिफाइ गर्ने, उनीहरूबाट पैसा लिने र त्यसबाट क्रिप्टोकरेन्सी किन्ने गरेका थिए ।
एसएसपी डा. केसीका अनुसार उनी वान एक्स बेट कम्पनीका लागि नेपालका मुख्य एजेन्टमध्ये एक हुन् । उनलाई प्रहरीले लामो समयदेखि खोजिरहेको थियो ।
श्रेष्ठले ‘पिन्टु’, ‘डा. रामदिलास थारू’लगायतका नाम प्रयोग गर्दै आएका थिए । लामो समयदेखि खोजीमा रहेका उनको वास्तविक नाम पहिचान भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

‘पिन्टु नाम गरेका व्यक्ति वान एक्स बेटसँग जोडिएको मुख्य एजेन्टका रूपमा हाम्रो खोजी सूचीमा थिए,’ एसएपी केसीले भने, ‘उनी छद्म नाम राखेर लुक्दै आएका रहेछन् ।’
ठूला एजेन्टमध्येका अर्का एक दिनेश चन्दले पनि ४५ लाख बराबरको कारोबार गरेको प्रमाण भेटिएको प्रहरीले जनाएको छ ।
आशिष लामिछाने भने भारतमा चार्टर्ड एकाउन्टेन्ट पढेर आएका हुन् । उनले वान एक्स वेटका नेपाली एजेन्टहरूको हिसाबकिताब राख्दै आएको तथ्य खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको साथबाट ३७ लाख रुपैयाँ नगदसमेत बरामद गरेको छ ।
प्रहरीको अनुसन्धानमा लामिछानेले विदेशमा रहेकाहरूको ‘फेसबूक अकाउन्ट ह्यान्डलिङ’ गरेर कारोबार गर्दै आएको खुलेको छ ।
उनले नेपाली एजेन्टहरूसँग पैसा संकलन गर्ने र जम्मा भएको रकम तथा हिसाबकिताब ‘अमेरिकन गेम्लिङ एजेन्ट’का परिवारलाई पठाउने गरेको खुलेको एसएसपी केसीले बताए ।
प्रहरीका अनुसार पक्राउ परेका ५ जनाले ७४ करोड १३ लाख ५० हजार रुपैयाँ बराबर कारोबार गरेको देखिएको छ । उनीहरूले अनलाइनमार्फत गरेको कारोबारको 'स्क्रिन शट'लगायतका प्रमाणहरू फेला पारेको प्रहरीले जनाएको छ ।