२६ जेठ २०८३, मंगलबार

३ हजार गाईभैंसीलाई लम्पीस्किन विरुद्धको खोप

जेठ ३२, २०८०
चितवन
३ हजार गाईभैंसीलाई लम्पीस्किन विरुद्धको खोप
प्रतिकात्मक तस्वीर

चितवनका ३ हजार ३८० गाईभैंसीलाई लम्पीस्किन विरुद्धको खोप लगाइएको छ । पशु पालक किसान र स्थानीयको सक्रियतामा खोप लगाईएको हो ।  
 
भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत डा. रामचन्द्र आचार्यका अनुसार भरतपुर महानगरपालिकाका २ हजार ९९०, रत्ननगर नगरपालिकाका ३४० र राप्ती नगरपालिकाका ५० वटा गाईभैंसीमा लम्पीस्किन विरुद्धको खोप लगाइएको छ ।
 
खोप खरिदका लागि कार्यलयमा बजेट अभाव हुँदा स्थानीय पालिका र कृषक आफैंले खोप खरिद गरी लगाएको उनले जानकारी दिए । प्रदेश सरकार र संघीय सरकारले खोपका लागि बजेट विनियोजन नगर्दा समस्या आएको हो । उनले भने, ‘सरकारले अहिलेसम्म बजेट विनियोजन गरेको छैन । अब बजेट आए पनि खरिद प्रक्रिया जाँदा ढिला हुन्छ ।’
 
‘कार्यालयमा बजेट नहँुदा कृषक आफैंले खोप खरिद गरेका हुन्,’ उनले भने । अतिप्रभावित क्षेत्रका पशुपालक कृषकले आफैं खोप खरिद गरी लगाएका छन् । कार्यालयले अहिलेसम्म ५ हजार गाईभैंसीलाई औषधि वितरण गरेको उनले जानकारी दिए । रोग न्यूनीकरणका लागि मलम, स्प्रे, ज्वरो नियन्त्रणका लागि औषधि, पोटास, फिनेल, भिरकोन जस्ता औषधि वितरण गरिएको छ ।
 
कार्यालयले जिल्लाका प्रभावित क्षेत्रमा जनचेतनाका कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ । जनचेतनाका लागि पालिकास्तरमा सचेतना गोष्ठी, जिल्लाका सहकारीमार्फत फ्लेक्स, ब्रसर र पम्प्लेट वितरण लगायतका काम गरिएको उनले जानकारी दिए । रोग के हो ? रोग नियन्त्रण कसरी गर्ने ? यसका औषधिका बारेमा जानकारी दिइएको उनले बताए ।
 
लम्पीस्किनका कारण गाईभैंसी मर्न थालेपछि उच्च सतर्कता अपनाउन कृषकलाई अनुरोध गरिएको छ । जिल्लामा हालसम्म ४ हजार १०० गाईभैंसी रोगबाट प्रभावित भएका छन् । जसमध्ये ११२ वटा मरिसकेको कार्यालयले जनाएको छ । रोगका कारण जिल्लाको राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिका बढी प्रभावित भएका छन् ।

जिल्लामा ९३ हजार १८२ गाई र ७२ हजार ९७८ भैंसी पालिएको छ ।
 
गाईभैंसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा १ देखि ५ सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्‍याल काढ्ने, लिम्फनोड सुक्नेजस्ता लक्षण देखापर्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्