२५ जेठ २०८३, सोमबार
सडक स्तरोन्नतिमा चरम ढिलासुस्ती

बुटवल–नारायणगढ 'सकसको सफर’– दिउँसै 'हेडलाइट' बालेर हिँड्नुपर्ने अवस्था

जेठ ३२, २०८०
बुटवल
बुटवल–नारायणगढ 'सकसको सफर’– दिउँसै 'हेडलाइट' बालेर हिँड्नुपर्ने अवस्था

योजनाअनुसार काम अघि बढेको भए यतिबेला बुटवल–नारायणगढ खण्डको फराकिलो सडकमा तीव्र गतिमा गाडी हुइँकिन्थे ।

वि.सं.२०७५ चैतबाट निर्माण शुरू भएको सडक विस्तार वि.स.२०७८ भदौसम्म सक्ने सम्झौता थियो । तर, विडम्बना ! तीन वर्षसम्म भौतिक निर्माण शुरू हुनै सकेन । यसबाट परियोजनाको अवधि कम्तीमा तीन वर्ष पर धकेलिएको मात्र छैन लागत पनि बढेको छ । 

शुरूआतमा १६ अर्ब ९९ करोड रूपैयाँको लागत निर्माण शुरू गरेको ठेकेदार कम्पनीले अहिले बढाएर १७ अर्ब १ करोड रूपैयाँ पुर्‍याएको छ । यो आयोजनामा तोकिएको समयमा काम नहुनु निर्माण व्यवसायीको लापरवाही, सरकारी ढिलासुस्ती र प्रक्रियागत झञ्झट मुख्य कारण छन् ।

null

कामको गति सुस्त हुँदा, यात्रु र सडक दायाँबायाँका बासिन्दाले लामो समयदेखि धुलो, धुवाँ र जाम खेपेका छन् । पहिलोपटक थपिएको म्यादको समयसीमा सकिन लाग्दा समेत एकतिहाइ काम हुन सकेको छैन ।

थपिएको म्याद आउँदो साउन २१ (६ अगस्ट) मा सकिँदैछ । लामो समयसम्म पानी नपर्दा अहिले सडक धुलोले दिउँसै अन्धकार हुन्छ । धुलोको कारण दिउँसै गाडीले ‘हेडलाइट’ बालेर हिँडनुपर्ने अवस्था छ । 

सडक आयोजनाका अनुसार पूर्वपश्चिम राजमार्गको मध्य भागमा पर्ने यो ११४ किलोमिटर सडक खण्डको पाँच वर्षमा जम्मा ३४ प्रतिशत काम मात्र भएको छ । 

null

चौबीसै घण्टा गाडीको चाप हुने सडक खण्ड समयमा नबन्दा यात्रुले ठूलो सकस खेप्दै आएका छन् । यो सडक खण्ड रूपन्देही, पश्चिम नवलपरासी र नवलपुर गरी तीन जिल्लामा पर्छ । 

सडकसँग जोडिएका गैंडाकोट, देवचुली, कावासोती, मध्यविन्दु, विनयत्रिवेणी, बर्दघाट, सुनवल, देवदह र रुपन्देहीका कैयन पालिका, बस्ती र हजारौं नागरिक धुलो, धुवाँ र हिलोले आजित छन् । दैनिक हजारौं यातायातका साधन र यात्रुहरू ठूलो जोखिम व्यहोर्दै घण्टौंसम्म सडकमा बस्न बाध्य छन् । 

यता बुटवल नारायणगढ सडक आयोजना पश्चिम खण्डका प्रमुख शशांक मिश्र भने पछिल्लो समय कामले गति लिएको दाबी गर्छन् ।

null

‘पश्चिम खण्डमा अहिलेसम्म ३१ प्रतिशत काम भएको छ,’ मिश्रले लोकान्तरसँग भने, ‘पश्चिम खण्डमा बर्दघाटदेखि हरकट्टासम्म, सुनवलको वनकट्टीदेखि बडेरासम्म र रूपन्देहीको खैरेनीमा गरी टुक्रा–टुक्रामा ९ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । असार मसान्तसम्म १७ किलोमिटर पिच गर्ने लक्ष्यका साथ अगाडि बढेका छौं ।’

मिश्रले थपे, ‘पश्चिम खण्डमा पुलहरू बनिसके । कहीँ पनि डाइभर्सन छैनन् । वर्षायाममा पनि कालोपत्रे बाहेकका काम गर्नेछौं । अर्को वर्षसम्म सकिने गरी काम अघि बढेको छ । शुरूआती कामको ढिलाइले गर्दा प्रगति नदेखिएको हो । अब तीव्र गतिमा काम भइरहेको छ ।’

साढे २ घण्टामा यात्रा गर्न सकिने सडक पार गर्न यात्रुलाई अहिले ६–७ घण्टा लाग्ने गर्छ । सडक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ गते बुटवलमा शिलान्यास गरेका थिए । सडक विस्तारको योजनाकार एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल हुन् । एसियाली विकास बैंकको ऋण सहयोगमा बन्ने सडकका लागि १६ अर्ब ९९ करोड ५२ लाख रूपैयाँमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनीयरिङ कर्पोरेसनले ठेक्का लिएको थियो । 

बुटवल–दाउन्ने र दाउन्ने–गैंडाकोट गरी २ खण्डमा विभाजन गरेर सडकको काम गरिएको छ । पूर्व खण्ड दाउन्ने–गैंडाकोटको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र पश्चिम खण्ड दाउन्ने–बुटवलकोलागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ छ । निर्माण ढिलाइले दुई करोड रुपैयाँ लागत बढेको छ । 

null

दाउन्ने पूर्व ४८ र दाउन्ने पश्चिम ६५ किलोमिटर पर्छ । दाउन्ने–गैंडाकोट खण्डमा चाइना स्टेटतर्फका आयोजना प्रमुख राकेश झाले पूर्व खण्डमा ३७ प्रतिशत काम भएको बताए । ‘पूर्वी खण्डमा १२ किलोमिटर कालोपत्रे भएको छ,’ झाले लोकान्तरसँग भने, ‘पुल, निर्माण, कालोपत्रे, बेस हाल्ने काम भएको छ । असार मसान्तसम्ममा ४० प्रतिशत काम हुन्छ । केही पुराना पुलहरू कमजोर भएका छन् । ती पुलहरू पनि बनाउनुपर्ने भए लागत थप हुन जान्छ ।’

झाका अनुसार पूर्वी खण्डमा १ हजार २०० कामदारले काम गरिरहेका छन् । 

आर्थिक केन्द्र बुटवल र पर्यटकीय केन्द्र चितवनको नारायणगढलाई ‘फास्ट ट्रयाक’ सडकले जोड्ने गरी पाँच वर्षअघि सडक विस्तार आयोजना शुरू भएको हो । भारतबाट आउने मालबाहक ट्रकदेखि काठमाडौंबाट पश्चिमका विभिन्न जिल्लामा जाने गाडीका लागि यो एक मात्र सडक हो । 

null

‘सडक धुलोले देखिँदैन,’ बुटवलदेखि काठमाडौं हिँडेका यात्रु हरिलाल खरेलले भने, ‘बाटोमा कहाँ जाम पर्छ थाहा छैन । पानी परे कहाँ कतिबेला रोकिनुपर्छ ठेगान हुन्न ।’ 

धुलोले खासगरी जंगल क्षेत्रमा अझ बढी सताउने गरेको छ । बर्दघाटदेखि दाउन्नेसम्म धुलोले केही देखिँदैन । ट्राफिक प्रहरीका अनुसार यो सडकमा दैनिक करीब ३ हजार मालबहाक ट्रक, १ हजार ५००, यात्रुबहाक बस, ३ हजार ५० कार, ३ हजार ७०० मोटरसाइकल र ८०० अन्य सवारी साधन ओहोरदोहार गर्छन् ।

सडक निर्माणको कूल लागतमध्ये एसियाली विकास बैंक (एडीबी) ले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराएको छ भने बाँकी रकम नेपाल सरकारकै लगानी हुनेछ । पूर्वपश्चिम राजमार्ग वि.सं. २०२२ सालमा तत्कालीन राजा महेन्द्रको योजनाअनुसार शिलान्यास भई वि.स. २०२८ सालमा निर्माण सम्पन्न भएको थियो । 

null

सडक निर्माण पूरा भएपछि बुटवलबाट नारायणगढ डेढ घण्टामै पुग्न सकिने छ । यातायात व्यवसायीले सडक खराब हुँदा सवारीसाधन छिटो–छिटो बिग्रिने समस्या आएको भन्दै निर्माणको कामलाई चाँडोभन्दा चाँडो सक्न आग्रह गर्दै आएका छन् । 

पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले सडकका कारण यात्रुबाहक गाडी धेरै बिग्रिने समस्या देखिएको बताए ।

सडकको अवस्था बुझ्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले समेत अवलोकन गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्