२७ जेठ २०८३, बुधबार
अराजकताको हद

केन्द्रीय कारागारभित्रै 'अवैध धन्दा': लागूऔषध र मदिरा बेचबिखन, विरोध गर्नेलाई यातना !

असार १, २०८०
काठमाडौं
केन्द्रीय कारागारभित्रै 'अवैध धन्दा': लागूऔषध र मदिरा बेचबिखन, विरोध गर्नेलाई यातना !

आफूहरूमाथि शोषण र दमन गर्दै कारागारमा ‘अवैध धन्दा’ मौलाएको भन्दै केन्द्रीय कारागार सुन्धाराका कैदी–बन्दीले गृह मन्त्रालय तथा कारागार व्यवस्थापन विभागमा उजुरी दिएका छन् ।

महिला कारागार सुन्धारा र कारागार कार्यालय जगन्नाथदेवल (सुन्धारा)का कैदीबन्दीका तर्फबाट छुट्टाछुट्टै उजुरी परेको हो ।

उनीहरूले जेलर तथा नाइके र त्यहाँका चौकीदार मिलेर कैदीमाथि दमन, शोषण र त्यहीँबाट अवैध काम गरिरहेको विवरण पनि मन्त्रालय र विभागलाई दिएका छन् ।

मन्त्रालयले उजुरी दर्ता पनि गरिसकेको छ । उनीहरूले दिएको उजुरी अख्तियारसम्म पनि पुगेको छ ।

यस्तै खालको उजुरी केही महिनाअघि केन्द्रीय कारागार सुन्धारास्थितभद्र बन्दीगृहका कैदीबन्दीले पनि गरेका थिए ।

महिला कारागारमा चौकीदार शान्ति तामाङ, हस्पिटल नाइके कोपिला मगर, हेडमास्टर निशा खनाललगायतको मिलोमतोमा कारागारभित्रै लागूऔषध, चुरोट र मदिरा बेचबिखन हुने गरेको उजुरीमा उल्लेख छ ।

कारागारभित्र यसरी लुटतन्त्र मच्चाउँदै आएकाहरूलाई जेल प्रशासनले नै संरक्षण दिएको उनीहरूको दाबी छ । 

कारागार प्रमुख ललित बस्नेतले बेथितिविरुद्ध बोल्नेहरूलाई अर्कै जेलमा सरुवाको धम्की समेत दिने गरेको कैदीबन्दीको आरोप छ ।

उजुरीमा उल्लेख भएअनुसार मूल नाइके, चौकीदार, बैदार, ठूलो बैदारजस्ता कैदीबन्दीहरूले कारागार प्रशासनको जेलर भवनसम्म सहज रूपमा आउन पाउँछन् । उनीहरू कारागार प्रशासन र जेलर भवनमा आउँदा र जाँदा पनि चेकजाँच हुँदैन । 

त्यसले गर्दा कैदी बन्दीलाई भेटघाट गर्ने बहाना बनाई बाहिरबाट आएको व्यक्ति र मूल नाइके, चौकीदार, बैदार, ठूलो बैदारजस्ता कैदीबन्दीहरूको सहज भेटघाट हुनेगर्छ । 

यसैको फाइदा उठाउँदै मूल नाइके, चौकीदार, बैदार, ठूलो बैदारले कारागारभित्र लागूऔषध, चुरोट र मदिरा भित्र्याउने र १० औं गुणा महंगोमा बिक्री वितरण गर्ने गरेको कैदी बन्दीको दाबी छ ।

कारागारका क्यान्टिन तथा पसलहरूमा पनि तीन गुणसम्म महंगोमा सामान बेचिने गरेको उजुरीमा उल्लेख छ ।

उजुरीमा बताइएअनुसार कारागारभित्र कैदीबन्दीका लागि मेस तथा होटल सञ्चालन गर्नेले सिधै बजारबाट खाद्यान्न तथा तरकारी खरिद गर्न पाउँदैनन् । तरकारी तथा खाद्यान्न पसल कैदीबन्दी चौकीदार प्रभाकर नरसिंह राणा र किराना पसल प्रीतम मानन्धरले सञ्चालन गर्दै आएका छन् ।

मेस तथा होटललाई खरिद मूल्यभन्दा ३ गुणा बढी लिएर बिक्री गर्छन्, जसले गर्दा होटल तथा मेसमा पाइने खानेकुरा महंगो हुने गर्छ । सरकारले कैदीलाई दिएको भत्ताले मेसमा खाएको तिर्न पनि पुग्दैन । फलस्वरूप कैदीबन्दीहरू घर परिवारबाट पैसा मगाउन बाध्य छन् । 

त्यसैमाथि आफन्तहरूले कैदी–बन्दीलाई दिएको रकममा पनि उनीहरूले ५० प्रतिशतसम्म ‘कमिसन’ काट्ने गरेको दाबी उजुरीमा छ ।

आफन्तले कैदीलाई पैसा दिन चाहे सिधै दिन पाउँदैनन् । मूल नाइकेले त्यसदिन खटाएको कैदी (जसलाई स्टाफ भनिन्छ) को हातमा दिनुपर्छ । उक्त रकम स्टाफ बसेको कैदीमार्फत पाएपछि मूल नाइकेले कमिसनको नाममा ५० प्रतिशत रकम उठाउने गरेको उजुरीमा उल्लेख छ ।

उजुरीकर्ताहरूका अनुसार कारागारभित्रै मिटर ब्याज, अनलाइन जुवा (वेटिङ) लगायतका धन्दाहरू पनि मौलाउँदै गएका छन् । 

उनीहरूले आफ्नो उजुरीमा लेखेका छन्, ‘कारागारभित्र कैदीबन्दीलाई रुपैयाँ पैसा उधारो लिन उकास्ने र त्यस्तो पैसाको १०० बराबर मासिक ५ रुपैयाँका दरले हिसाब गरी मिटर ब्याज उठाउने गरेका छन् ।’

कारागारमा भएका विकृति, विसंगति तथा त्यस्ता अवैध धन्दाहरूको विरोध गर्ने कैदी बन्दीलाई धम्क्याउने, मानसिक र शारीरिक यातना दिने तथा सरुवा गर्ने र रोक्नेजस्ता कामहरू पनि हुँदै आएको उजुरीमा उल्लेख छ । उजुरीकर्ताहरूले कैदीहरूको सरुवामा पनि व्यापक पैसाको चलखेल भइरहेको आरोप लगाएका लगाएका छन् ।

‘निषेधित वस्तुको बिक्री वितरण र महंगीको विरोध गर्नेउपर चौकीदार प्रभाकर नरसिंह राणा, मुल नाइके रमेश भन्ने बै लामा, ठूलो बैदार प्रीतम मानन्धरसमेत भई शारीरिक तथा मानसिक यातना दिने तथा जेलरसँग मिली जेल स्थानान्तरसमेत गर्ने गरेका छन् ।​ हालसालै दीपकराज दाहाललाई नख्खु कारागार र खेमबहादुर डाँगीलाई नेपालगञ्ज कारागार चलान गरिएको छ । विकृतिविरुद्ध बोलेको कारणले कुटपिट समेत गरी निजहरूलाई सरुवा गरिएको हो,’ उजुरीकर्ताले भनेका छन् ‘चौकीदार शान्ति तामाङ, हस्पिटल नाइके कोपिला मगर, हेडमास्टर निशा खनाल समेत भई पुराना कैदीहरूलाई जेलबाट सरुवा रोकिदिने भनी १ लाख देखि २ लाखसम्म रकम उठाउने गर्छन् । उक्त रकम जेलरसम्म पुर्‍याई कैदीको कारागार सरुवा रोक्नेसम्मको काम हुने गरको छ ।’

हेर्नुहोस्, महिला कारागारका कैदीबन्दीको उजुरी:

nullnull

हेर्नुहोस्, अर्को उजुरी :

null

salt training

कमेन्ट गर्नुहोस्