०७ साउन २०८३, बिहीबार

धुलिखेल नगरपालिकाको बजेट १ अर्ब १५ करोड

असार ७, २०८०
काभ्रेपलाञ्चोक
धुलिखेल नगरपालिकाको बजेट १ अर्ब १५ करोड

धुलिखेल नगरपालिकामा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १ अर्ब १५ करोड १५ लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

नगरले बुधवार तेह्रौं नगर सभाको अधिवेशन सम्पन्न गर्दै बजेट पारित गरेको हो । 
    
तोकिएको अवधिमा बजेट सार्वजनिक गर्ने काभ्रेपलाञ्चोकको १३ स्थानीयमध्ये धुलिखेल नगर पहिलो हो । सभामा आउँदो आवका नगर प्रमुख अशोक ब्याञ्जुले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट, उपप्रमुख निराजन जङ्गमले प्रस्तुत गरेको आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मतले पास गरिएको छ ।

विनियोजित बजेटमध्ये चालूतर्फ ६७ करोड ६५ लाख ३२ हजार रहेको छ भने पुँजीगत खर्चतर्फ ४६ करोड ७९ लाख ६८ हजार उल्लेख छ । वित्तीय व्यवस्थातर्फ ७० लाख विनियोजन भएको छ । चालू आव २०७९/८० मा १ अर्ब ३५ करोड अनुमान गरिएकोमा आर्थिक मन्दीका कारण लक्ष्यअनुरूप राजस्व संकलन हुन नसकेकाले कूल बजेट १ अर्ब २२ करोड २५ लाख कायम गरिएको जनाइयो ।

चालू आवको प्रगतिमा ८० दशमलव ३५ प्रतिशत प्रगति भएको बताइयो ।

नगर प्रमुख ब्याञ्जुले नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै स्वास्थ्य शहर अभियानलाई साकार बनाउन स्वास्थ्य सूचनामा जनताको पहुँच विस्तार गर्न ड्यास बोर्ड कार्यक्रम, रक्तअल्पता मुक्त नगर, दीर्घरोगीलाई घरघरमा औषधि पुर्‍याउने घोषणा समेत गरेका छन् ।

कार्यक्रममा नसर्ने रोगको प्रकोपको नियन्त्रण गर्न दीर्घ रोगीलाई स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइ घरमै औषधि पुर्‍याउने योजना बनाइएको छ । ‘काभ्रे हाइपरटेन्सिभ क्यास्केड केयर’ कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याइने ब्याञ्जुले बताए ।
    
नगर सभाले धुलिखेल नगर अस्पताल सञ्चालन, स्वास्थ्य पर्यटन गन्तव्य, रोग विरुद्धको चेतना व्यक्ति व्यक्तिमा, रोगको उपचार बस्ती बस्तीमा, बहुक्षेत्रीय स्वास्थ्य, प्रत्येक स्वास्थ्य संस्थामा अक्सिजन सेवा, स्वास्थ्य बिमा, नगरको जिम्मा, राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा प्रचार, निःशुल्क एम्बुलेन्स सेवा, मानसिक रोग तथा मनोसामाजिक परामर्श, हाम्रो स्वास्थ्य–हाम्रो सरोकार, स्वास्थ्य सहर, धुलिखेल नगर, धुलिखेल नगर, धुवाँमुक्त सहर, विपद्मा नगरको साथ, अत्यावश्यकीय औषधि तथा उपकरण अभाव हुन नदिन र विशेषज्ञ घुम्ती स्वास्थ्य शिविर सञ्चालनको घोषणा गरेको छ । 
    
शिक्षामा स्वउत्प्रेरित शिक्षकले मात्र सिकाउने कार्यक्रमलाई प्राथमिकता, नतिजाका आधारमा शिक्षक र विद्यार्थीलाई प्रोत्साहन पुरस्कार र दण्डको व्यवस्था, सकारात्मक प्रतिस्पर्धाको वातावरण, शिक्षकको व्यवस्थापन कार्य र विद्यार्थीको सिकाइ उपलब्धिको मूल्यांकन गरी समग्र शैक्षिक उपलब्धिको आधारमा विद्यार्थी र शिक्षकलाई दण्ड पुरस्कारको नीति लिइने ब्याञ्जुले बताए ।
    
‘धुलिखेलका खेलाडी सधैं अगाडि’ भन्ने नारालाई युवा तथा खेलकुद कार्यक्रम प्रभावकारी बनाइने, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, सामाजिक सुरक्षा र सामाजिक समावेशिता लगायतका कार्यक्रमलाई प्रभावकारी बनाउने, लैंगिक हिंसा नगरी समान व्यवहार गरौं, महिला पुरुष कोही पनि हिंसामा नपरौं भन्ने नारालाई कार्यान्वन गर्ने घोषणा गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्