
पूर्वपश्चिम राजमार्गको बुटवल–गोरूसिंगे–चन्द्रौटा सडक ४ लेनमा स्तरोन्नतिको काम शुरू भएको छ ।
बहुवर्षीय योजनाअनुसार सडक विस्तारको काम अगाडि बढेको हो । विश्व बैंकको सहयोगमा यातायात र व्यापार आबद्धता अभिवृद्धि आयोजना (एक्सेस) शुरू भएको छ ।
बुटवल–नारायणगढ ११४ किलोमिटर सडक विस्तारको क्रममा छ । अबको सडक विस्तारले कपिलवस्तुदेखि नारायणगढसम्मको सडक यात्राको समय छोट्टिनेछ । यसबाट सडकमा यात्रा गर्ने समय ४० प्रतिशतले घटाउने अपेक्षा गरिएको छ ।
राजमार्गको बुटवल–गोरूसिंगे–चन्द्रौटा सडक खण्डमा पर्ने ६९ किलोमिटर सडकलाई ‘फोर लेन’ स्तरोन्नति गर्ने ठेक्का लागेपछि समयमा पूरा गर्ने सडक विभागको लक्ष्य छ । आयोजनाको लागि २७ करोड ५० लाख डलर (झण्डै ३५ अर्ब रुपैयाँ) विश्व बैंकले उपलब्ध गराउने भएको छ ।
आयोजनाले नेपालमा छानिएका व्यापारिक कोरिडोरमा व्यापार, यातायात लागत र पारवहन समय घटाएर व्यापार र आबद्धता सुधार गर्ने विश्व बैंकले जनाएको छ । गत हप्ता भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिनज राइजरले आयोजनाको शुभारम्भ गरेका थिए ।
आयोजनाबाट नेपालका विभिन्न प्रदेश र छिमेकी मुलुकसँग यातायात र व्यापार आबद्धता बढाउने भएकाले नयाँ आर्थिक सम्भावनाको ढोका खोल्ने जनाइएको छ ।

निर्माण भएको ६० वर्ष पुगेको सडक अहिले साँघुरो र जीर्ण छ । आयोजनाअन्तर्गत बुटवलदेखि चन्द्रौटासम्मको सडक ४ लेन र बुटवलको तिनाउ नदीमा ‘सिग्नेचर ब्रिज’ निर्माण गर्ने योजना छ । २ लेनमा रहेको पूर्वपश्चिम राजमार्गलाई अहिले विभिन्न खण्डमा गरी धमाधम स्तरोन्नति गर्ने काम भइरहेको छ । जसका कारण भारतको पश्चिमी बन्दरगाहसम्म नेपालको पहुँच सहज हुनेछ ।
नेपाल सरकार र विश्व बैंकबीच सेप्टेम्बर २०२२ मा आयोजनाको वित्तीय सम्झौतामा हस्ताक्षर भएको थियो ।
सडक विभागका सहसचिव विजय जैसीले आयोजनाको ठेक्का प्रक्रियामा छिट्टै जाने तयारी रहेको बताए । पहिलो चरणमा बुटवलदेखि गोरूसिंगे ५० किलोमिटर सडक स्तरोन्नति हुनेछ,’ जैसीले लोकान्तरतसँग भने, ‘गोरुसिंगेदेखि चन्द्रौटासम्म १९ किलोमिटर डिजाइन भएको छैन । अबको १ महिनाभित्र ठेक्का भइसकेपछि भदौदेखि फिल्डमै काम हुन्छ ।’

सहसचिव जैसीले थपे, ‘हामीले कम्तीमा ३ वर्षभित्र सक्ने गरी ठेक्का लगाउने तयारी गरेका छौं । ‘हाइवे’ निर्माणमा ढिलाइ गर्नु हुँदैन । महत्त्वपूर्ण आयोजनालाई समयमा सम्पन्न गराउने दायित्व सबैको हुन्छ ।’
विक्रम संवत् २०१८ सालमा तत्कालीन राजा महेन्द्र शाहले शिलान्यास गरेको सडक ६० वर्षपछि फराकिलो हुन लागेको छ । त्यो बेला पूर्वपश्चिम राजमार्ग विस्तार गर्दा राजा महेन्द्रले भारत, रूस र बेलायतको सहयोग मागेका थिए । सडकका डिभाइडर पनि बेलायती मोडलकै थिए । महेन्द्र शाहले नवलपरासीको गैंडाकोटमा राजमार्गको शिलान्यास गरेपछि ‘महेन्द्र राजमार्ग’ नामकरण गरिएको थियो ।
देशमा गणतन्त्र आएपछि राजमार्गको ‘महेन्द्र’ नाम हटाएर ‘पूर्वपश्चिम’ राजमार्ग कायम गरिएको छ । सडक डिभिजन कार्यालय बुटवलका सिनियर डिभिजन इन्जिनियर होमबहादुर एसीले बढ्दो सवारीसाधनको चापले अब राजमार्गहरू कम्तीमा फोर लेन बनाउन अनिवार्य भइसकेको बताए ।
सडक स्तरोन्नतिसँगै दोस्रो खण्डअन्तर्गत तिनाउ नदीमा सिग्नेचर पुल पनि नयाँ प्रविधिमा बनाइनेछ । युरोपका धेरै शहरहरूमा सिग्नेचर पुलहरू निर्माण भएका छन् । आकर्षक हुने भएकाले यसले पर्यटकीय महत्त्व समेत राख्नेछ । झट्ट हेर्दा नेटवर्क आर्क ब्रिज जस्तै डिजाइनमा बनेको देखिने भए पनि यो फरक खालको हुनेछ । पुलको लागत १ अर्ब रुपैयाँभन्दा माथि हुने अनुमान गरिएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत हालको तिनाउ पुल जीर्ण हुँदै गएको र बुटवल क्षेत्रको सवारी चाप समेत अत्यधिक बढेका कारण नयाँ ‘सिग्नेचर ब्रिज’ निर्माणका लागि ३ वर्ष अघिबाट तयारी थालिएको थियो । यो बुटवल–चन्द्रौटा सडक विस्तार भएपछि पुरानो पुलले सवारीसाधनको चाप नथाम्ने भएका कारण पनि पुल निर्माण गर्न लागिएको हो ।
पुलको किनारामै नेपाली वीरताको गाथा बोकेको जीतगढी किल्ला समेत रहेकाले पर्यटनको सम्भावनालाई ध्यानमा राखेर पनि यो पुल सिग्नेचर ब्रिज हुने गरी निर्माण गर्ने योजना बनाइएको छ ।
बुटवलका इतिहासकार देवेन्द्रराज शाक्यले सिद्धार्थ राजमार्ग र पूर्वपश्चिम राजमार्ग सँगसँगै निर्माण थालिएको बताए । महेन्द्रले पूर्वपश्चिम राजमार्ग बनाएर नेपाललाई पूर्वदेखि पश्चिमसम्म जोडेका उनले बताए । शाक्यले भने, ‘ठूलो परियोजनाले बुटवलमा पर्यटन क्षेत्रमा पनि ठूलो टेवा पुर्याउँछ । यसले जीतगढीको प्रचारप्रसारमा पनि टेवा दिन्छ ।’