
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरू राजनीतिक अस्थिरताका पक्षमा नरहेको बताएका छन् ।
बिहीवार पत्रकारसँग कुराकानी गर्दै उनले रास्वपा मुलुकमा अस्थिरता नहोस् भन्ने पक्षमा रहेको बताए ।
उनले भने, ‘हामी अस्थिरताको खेलमा छैनौं । मुलुकमा अस्थिरता नहोस् भन्ने हाम्रो चाहना हो ।’
रास्वपा अहिले संगठन निर्माणका क्रममा रहेको उनको भनाइ थियो । संगठन निर्माणसँगै रास्वपाले सरकारका कामप्रति निरन्तर खबरदारी गरिरहने उनले बताए ।
फरक प्रसङ्गमा उनले सरकारले ल्याएको बजेट पास भए पनि यसले जनताको चाहनाअनुसार काम गर्न नसक्ने टिप्पणी गरेका छन् । उनले भने, ‘अहिले मुलुकको जुन अवस्था छ । अवस्था सुहाउँदो बजेट बनोस् भन्ने हाम्रो चाहना थियो तर त्यो हुन सकेन ।’
बजेट संसद्बाट पास हुनुलाई स्वाभाविक रूपमा लिएको बताउँदै उनले अहिलेको बजेट नियमित बजेट जस्तो भएको बताए ।
उनले थपे, ‘अहिलेको बजेटबाट व्यापारी, वैदेशिक दातृ निकाय लगायतका संस्था खुशी हुन सकेका छैनन् ।’ इतिहासमा पहिलो पटक मतदानबाट बजेट पास भएको बताउँदै उनले नागरिकको आवश्यकता सम्बोधन गर्न सरकारलाई आग्रह गरिरहने बताए ।