०२ साउन २०८३, शनिबार

एनएमबि बैंक र खेतीबीच विनाधितो कर्जा सम्झौता

असार १५, २०८०
काठमाडौं
एनएमबि बैंक र खेतीबीच विनाधितो कर्जा सम्झौता

एनएनबि बैंक लिमिटेड र नेपालको डिजिटल कृषि एप खेतीबीच विनाधितो कर्जा सम्झौता भएको छ । डिजिटल प्रविधिमा आधारित विनाधितो एनएमबि खेती कर्जाको शुक्रवारबाट आधिकारिक रुपमा शुभारम्भ भएको छ ।

यस कर्जामार्फत किसानहरूले खेती एपको नयाँ फिचर एनएमबि खेती कर्जामा आवेदन दिई सहजरुपमा ५ मिनेटभित्रै कर्जा प्राप्त गर्न सक्ने छन् ।
वित्तीय पहुँचबाट बञ्चित रहेका किसानहरूले सहज रुपमा कर्जा प्राप्त गरून् भन्ने हेतुले पूर्णरुपमा डिजिटल प्रविधिमा आधारित विनाधितो कर्जा नेपालमा नै पहिलोपटक शुरु गरिएको हो ।

किसानहरूले आफूलाई आवश्यक कृषि बिउ बिजन, अन्य विभिन्न आवश्यक कृषिजन्य वस्तु तथा उपकरणहरू खरिद गर्नको लागि यो कर्जा सरल किस्ताबन्दीमा विनाधितो प्राप्त गर्न सक्नेछन् ।

यो कर्जा प्राप्तिका लागि अन्य कर्जा जस्तै कर्जाको लागि आवश्यक कागजातहरू पेश गर्नुपर्ने झन्झट ब्यहोर्नुपर्ने हुँदैन । यो कर्जा पूर्णरुपमा डिजिटल प्रविधिमा आधारित कर्जा भएकाले किसानहरूले खेतीसँग पहिला गरेको कारोवारको मूल्याङ्कन गरेर स्विकृति गरिनेछ भने ग्राहकहरूले ३ महिनादेखि २४ महिनासम्मको भुक्तानी अवधिभित्र कर्जा चुक्ता गर्ने सुविधा प्राप्त गर्न सक्नेछन् ।

साथै कर्जा चुक्ता गरिसकेपछि कृषकले फेरि अर्काे कर्जा पनि तुरुन्तै प्राप्त गर्न सक्नेछन् ।

यस एनएमबि खेती कर्जा प्राप्त गर्नको लागि ग्राहकहरूले एनएमबि बैंकमा खाता खोलेको हुनुपर्दछ । यस्तै, खेती एप डाउनलोड गरी एपमा भएका फिचरहरूको प्रयोग गरेर ग्राहक पहिचान विवरण भर्नुको साथै कृषिजन्य उत्पादन तथा उपकरणको कारोवार खेती एपबाट गरेको साथै रोग तथा कीरा नियन्त्रण, फर्म शुरु जस्ता खेतीका महत्वपूर्ण चरणहरूमा पूर्ण सहभागी भएको हुनुपर्नेछ ।

देशले कृषिको व्यावसायिकरणमा जोड दिइरहेको अवस्थामा किसानहरूलाई पूर्णरुपमा डिजिटल प्र्रविधिमा आधारित विनाधितो कर्जा ५ मिनेटभित्र प्राप्त गर्न सकिने यस एनएमबि खेती कर्जाले किसानहरू लाभान्वित भई समग्र कृषि क्षेत्रको विकासमा टेवा पुग्ने र नेपालको अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव पर्ने बैंकको विश्वास छ ।

एनएमबि बैंकले हाल देशभरि २०१ शाखाहरू, १३८ एटीएमहरू र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्