
खानेपानी मन्त्री महिन्द्र राय यादवले ललितपुरको खुलमटार क्षेत्रमा मेलम्चीको पानी वितरण गर्न निर्देशन दिएका छन् । शनिवार ललितपुर महानगरपालिकाका वडा नम्बर १४, १५, २३ र २६ वडाका स्थानीय र सरोकारवालासँगको छलफलपछि मन्त्री यादवले खुलमटार क्षेत्रमा मेलम्चीको पानी वितरण गर्न निर्देशन दिएका हुन् ।
मन्त्री यादवले प्राविधिक समस्या समाधान गर्न निर्देशन दिँदै आर्थिक समस्या हुन नदिने घोषणा गरे । ‘यहाँ खानेपानीको ट्यांकी राखेर यहाँका स्थानीयलाई पानी नदिनु अन्याय हो,’ मन्त्री यावदले भने, ‘भोलिबाटै काम शुरू गर्नु, स्थानीयको माग जसरी पनि पुरा गर्नू ।’

मेलम्ची खानेपानी आयोजनाको पानी चक्रपथभित्र मात्रै वितरण गरेपछि खुमलटार क्षेत्रका स्थानीय काठमाडौं उपत्यका खानेपानी लिमिडेटविरुद्ध आन्दोलित थिए । घरअघि खानेपानीको विशाल ट्यांकी हुँदासमेत पानी नपाएको भन्दै उनीहरूले आन्दोलन शुरू गरेका थिए ।
हाल त्यस क्षेत्रका स्थानीयहरूले बोरिङ तथा ट्याङ्करको पानी प्रयोग गर्नुपर्ने बाध्यता छ । समस्या समाधान गर्न उनीहरूले गत जेठ २ गते दुई वडाध्यक्ष सहितको २६ सदस्यीय संघर्ष समिति गठन गरेका थिए ।
संघर्ष समितिले गत मंगलवार मन्त्री यादवलाई भेटेरै आफ्ना समस्या सुनाएका थिए । त्यति बेला नै मन्त्री यादवले खुमलटार क्षेत्रको खानेपानी समस्या समाधान गर्न तत्पर रहेको बताएका थिए।
उनले मन्त्रालयबाटै काठमाडौं उपत्यका खानेपानी विकास बोर्डका सीइओ ज्ञानेन्द्रबहादुर कार्की, आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी)का राजेन्द्र सापकोटा तथा जावलाखेल खानेपानी वितरण केन्द्रका प्रमुख कृष्ण शाहलाई फोन गरी खुमलटार क्षेत्रमा मेलम्चीको खानेपानी वितरण नगर्नुको कारण माग गरेका थिए । मन्त्रीको फोनमा नरम सुनिएका उनीहरू स्थानीय ती संस्थामा जाँदा भने एकले अर्कोलाई दोष लगाएर पन्छिने गरेका थिए । स्थानीयले सांसद तोसिमा कार्कीले पनि समस्या समाधानमा चासो नदिएको आरोप लगाउँदै आएका छन् ।
मन्त्री यादवले निर्देशन दिँदै गर्दा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेल) तथा काठमाडौं उपत्यका खानेपानी विकास बोर्डका सिइओ कार्की, पीआइएका प्रमुख राजेन्द्र सापकोटा तथा जावलाखेल खानेपानी वितरण केन्द्रका प्रमुख कृष्ण शाह पनि उपस्थित थिए । त्यस्तै संघीय सांसद तोसिमा कार्की, प्रदेश सभा सदस्यहरू रघुनाथ महर्जन र प्रमभक्त महर्जन, महानगरका मेयर चिरिबाबु महर्जनलगायत उपस्थित थिए । मन्त्री यादव स्थानीयको माग सम्बोधन गर्न सकारात्मक भएपछि भने त्यहाँको माहोल बेग्लै बनेको थियो ।
माग सम्बोधन गर्न हच्किँदै आएका निकायहरू एकाएक सकारात्मक बनेका थिए । केयूकेय, पीआइडी पनि सकारात्मक बनेका थिए ।
समस्या समाधान गर्न पहिला खासै चासो नदेखाएको आरोप खेपिरहेकी ललितपुर–३ की सांसद तोसिमा कार्कीले पनि स्थानीयको माग तत्काल सम्बोधन गर्न माग गरिन् ।
महानगरका मेयर चिरिबाबु महर्जनले रकमान्तर गरेर भए पनि समस्या समाधान गर्ने घोषणा गरे । ‘हामी ६ करोडसम्म बजेट निकासा गर्न सक्छौं, यहाँको खानेपानी समस्या तत्काल समाधान हुनु पर्यो,’ मेयर महर्जनले भने, ‘बजेट पुगेन भने रकमान्तर गर्न पनि तयार छौं ।’
यता केयुकेल तथा काठमाडौं उपत्यका खानेपानी विकास बोर्डका सीइओ ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रीको निर्देशनअनुसार भोलिबाटै काम थाल्ने प्रतिवद्धता जनाए । ‘मेलम्ची खानेपानी आयोजनाको पानी चक्रपथभित्र मात्रै वितरण गर्ने लक्ष्य भएकाले यहाँ पानी नदिएको हो,’ उनले स्पष्ट पार्दै भने, ‘यहाँको लागि नयाँ योजना पनि सोच्नु पर्ने बेला भएको छ ।’ वर्षा लागेसँगै मेलम्चीको खानेपानी मुहानबाटै बन्द गरिएको छ । अहिले संरचना तयार पारेर राखे हिउँदमा खानेपानी पिउन पाउने खुमलटारका स्थानीयले आशा राखेका छन् ।