०१ असार २०८३, सोमबार

सिम्रौनगढका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

असार २०, २०८०
काठमाडौं
सिम्रौनगढका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फाइल फोटो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानूसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

संसदीय अनुगमन विशेष समिति मधेश प्रदेशको प्रतिवेदनसहितको उजुरीमाथि छानबिन गर्दा भ्रष्टाचार गरेको पुष्टि भएपछि बुधवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

प्रवक्ता दाहालका अनुसार सिम्रौनगढ नगरपालिकाले मधेश प्रदेश सरकारको अनुदानबाट आ.व. २०७७/०७८ मा सञ्चालित योजनाहरूमा रकम निकासा गरी योजना सञ्चालन एवं सम्पन्न नै नगराई रकम हिनामिना भएको उजुरी परेको थियो ।

उजुरीमाथि छानबिन गर्दा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानू, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी, इन्जिनियर सुरेशकुमार यादव र सव–इन्जिनियर उपेन्द्र कुशवाहाले सिम्रौनगढ नगरपालिका, वडा नं. २ स्थित रानीवास खेल मैदान निर्माण कार्यमा भए गरेको कार्यभन्दा बढी तथा साइटमा नगरे/नगराएको परिमाणको कार्य भएको भनी नापी किताबमा चढाई, झुट्टा बिल भरपाई र गलत कार्यसम्पन्न प्रतिवेदन तयार गरी भए गरेको भन्दा बढी मूल्याङ्कन गरी गराई १ लाख ५६८ रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारले जनाएको छ ।

सोही बराबरको बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजायको मागदाबी गर्दै आरोप पत्र दायर गरिएको प्रवक्ता दाहालले जानकारी दिए ।

यस्तै, सिम्रौनगढ नगरपालिका वडा नं. २ स्थित रानीवास खेल मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष सोनालालप्रसाद यादव, सचिव नन्दकिशोर साह कानू र कोषाध्यक्ष गीताकुमारी साहले नगरपालिकासँग भएको सम्झौता बमोजिमको शर्त पालना नगरी, लागत अनुमान बमोजिम गर्नुपर्ने सबै कामहरू नगरी कार्य सम्पन्न भएको भनी मूल्याङ्कन गरी नगरपालिकामा बिल पेश गरेको पाइएकाले उनीहरू विरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्