
सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि आजै प्रदेश प्रमुखसँग दाबी पेश गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको सत्ता गठबन्धनको बैठकले आजै साँझ ५ बजेसम्ममा प्रस्ताव पेश गर्ने निर्णय गरेको नेकपा समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।
‘कोशी प्रदेशको मुख्यमन्त्रीबारे यसअघि नै निर्णय भइसकेको थियो, केही कन्फ्युजन थियो । फेरि पनि कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउन पहल गर्ने निर्णय भएको छ’ बैठकपछि पाण्डेले भने, ‘माओवादी संसदीय दलका नेता इन्द्र आङ्वो र समाजवादीका राजेन्द्र राईलाई बोलाएर निर्देशन दिएका छौं । साँझ ५ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि प्रस्ताव पेश हुन्छ ।’
कोशी प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेश गर्नका लागि आज साँझ ५ बजेसम्मको समय दिइएको छ ।