
गोठभरि गाईवस्तु, केही ‘लोकल’, केही सुर्ति प्रजातिका भैंसी । केही क्रस प्रजातिका राँगा, केही ‘लोकल’ कुखुराहरू पनि ।
सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाको १२ नम्बर वडाका राजकुमार ढकालको गोठ गाईभैंसी र लोकल कुखुराले भरिभराऊ छन् । वैदेशिक रोजगारीमा ७ वर्ष बिताएर गाउँ फर्किएसँगै उनी कृषि पेशामा आकर्षित भएका हुन् ।
विदेशमा ७ वर्ष कमाएर ल्याएको पैसा र बैंकमा घरजग्गा धितो राखेर ऋण निकालेका उनको गोठमा २५ गाईभैंसी र ४० लोकल कुखुरा छन् ।
लामो समय विदेश बसेर आए पनि सोचेजस्तो आम्दानी नभएपछि उनी कृषि पेशामा आकर्षित भएको बताउँछन् । ‘आफ्नै माटोमा केही गर्छु भनेर आएको छु, लगानी धेरै छ, हेरौं सफल भइन्छ कि ?’ उनले भने ।
देशमा थुप्रै राजनीतिक परिवर्तन भए । देशको व्यवस्था फेरियो तर राजकुमारको अवस्था भने फेरिन सकेन । उहीँ पुरानै अवस्था देखेपछि उनले विदेश जाने निधो गरे र उनी मलेसिया हुइँकिए ।
उजाड सपना र केही गरेर खान नसक्ने आफन्त र गाउँलेको तिखो वचनले विक्रम संवत् २०६५ सालमा मलेसिया पुगेका उनी मलेसियामा पनि धेरै दुःख गुजार्नुपरेको बताउँछन् ।
‘मलेसियामा मैले फोहोरमा काम गरेको हुँ, धेरै दुःख व्यहोरेको छु,’ उनले भने । मलेसियामा सोचेजस्तो आम्दानी नभएपछि उनी त्यहाँबाट भागेर स्वदेश फर्किए । स्वदेश फर्किएपछि पनि के गर्ने भन्ने अन्योलता उनको मनबाट हटेन र फेरि उनी कतार गए ।
कतारमा उनले विमानस्थलमा काम पाए तर सोचेजस्तो तलब नपाएपछि २ वर्षमै उनी फेरि स्वदेश नै फर्किए ।
घरपरिवार र आफन्तसँग केही समय बिताएपछि फेरि पनि उनले विदेशी भूमिमै जाने निधो गरे र दुबई गए । दुबईमा पेट्रोल पम्पमा काम पाए । ३ वर्ष कतार बस्दा पनि सोचेजस्तो कमाई नभएपछि उनी फेरि स्वदेश नै फर्किए । विदेशी भूमिमा ७ वर्ष समय बिताएका उनले विदेशबाट फर्किंदा जम्मा ५ लाख लिएर फर्किएको बताए ।
७५ लाखको लगानी
गाईभैंसीपालनका लागि उनले विदेशबाट कमाएर ल्याएको र ऋण गरेर ७५ लाख रुपैयाँको लगानी रहेको बताए । दूध बोक्नलाई बोलेरो समेत किनेका उनले लक्ष्मी बैंकबाट ६० लाख ऋण लिएको बताए । ‘मैले लक्ष्मी बैंकबाट मात्रै ६० लाख ऋण लिएको छु । ३५ लाखको वस्तु मात्रै छन्,’ उनले भने । शुरूमै त्यत्रो लगानी गर्छुभन्दा घरपरिवारबाटै हतोत्साहित गर्ने काम भएको उनी सुनाउँछन् ।
‘शुरूमै यत्रो लगानी गर्छु भन्दा त घर परिवारबाटै नगरौं भन्ने कुरा आएको थियो,’ उनले भने । अहिले भने ढकालको परिवारमा खुशी छाएको छ । उनको हिम्मतले आज सफलता र खुशी बनाएको छ ।
विदेशमा १६ घण्टासम्म काम गरेको बताउने राजकुमार अहिले मासिक ३ लाख आम्दानी गर्छन् । गाईवस्तुको आहारबाहेक उनको मासिक डेढ लाख बच्छ । ‘महिनामा ३ लाख कमाउँछु । त्यति नकमाए त मेरो घरजग्गा बैंकले लगिहाल्छ नि,’ उनले भने । उनी पैसा कमाउनकै लागि खाडी जानु नपर्ने बताउँछन् । जाँगर हुने मानिस विदेश जानुभन्दा गाउँमै केही गर्न उनी सुझाउँछन् ।
आफ्नै उत्पादन आफ्नै व्यापार
राजकुमारको काम दूध मात्रै उत्पादन गर्ने होइन, उनी दूध बेच्ने पनि गर्छन् । उनको आफ्नै दूध डेरी पनि छ । मेलम्ची बजारमा उनले गाईभैंसीपालनसँगै दूध पनि आफ्नै डेरीबाटै बेच्छन् । उत्पादन गरेको दूध अन्त पुर्याउनुपर्ने झन्झट उनलाई छैन । दैनिक १२० लिटर दूध उत्पादन हुने उनको गाई फार्मबाटै उनलाई मनग्य दूध पुग्दछ । आफ्नै उत्पादित दूधबाट पनिर लगायत अन्य परिकार पनि बनाउने गरेको उनी बताउँछन् ।
जीवनमा खुशी पाउनका लागि झण्डै ३० वर्ष संघर्ष गरेका ढकालको मुहारमा खुशी आउन ४ वर्ष काफी समय भयो । मलेसियाको तातो घामदेखि काठमाडौंका गल्ली–गल्लीमा संघर्ष गरेका उनी गाउँ फर्किएर कृषि पेशामा संलग्न भएको ४ वर्षमै उनको मुहारमा खुशी छाएको हो ।
शुरूमा ५ लाख लगानी गरेर कुखुरापालन समेत गरेका उनी हतार र हतास गर्न नहुने बताउँछन् । उनी सफलता मानिसको पछिपछि आउने गरेको बताउँछन् । ‘हामी हतार र हतास बन्न नहुने रहेछ । धैर्य गर्ने हो भने प्रतिफल आउँछ सफलता पाइन्छ,’ उनले भने । – देवराज सुवदी/रासस