२२ जेठ २०८३, शुक्रबार

दुग्ध उत्पादक कृषकलाई अनुदान

असार २४, २०८०
तनहुँ
दुग्ध उत्पादक कृषकलाई अनुदान
प्रतिकात्मक तस्वीर

तनहुँको म्याग्दे गाउँपालिकाले दूध उत्पादक कृषकलाई उत्पादनका आधारमा अनुदान उपलब्ध गराएपछि कृषक उत्साहित भएका छन् ।

गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यसहित पालिकाले उत्पादनका आधारमा अनुदान दिने नीति ल्याएपछि कृषक खुशी भएका हुन् । 

म्याग्दे गाउँपालिका–३ निवासी नवराज घिमिरेले चालू आर्थिक वर्षमा ९ हजार ३९४ लिटर दूध उत्पादन गरे । गाउँपालिकाबाट उनले प्रतिलिटर ९ रुपैयाँ २० पैसाका दरले ८६ हजार ४२४ रुपैयाँ अनुदान प्राप्त गरे ।

उनले भने, ‘गाउँपालिकाको यो कामले कृषकको हौसला बढाएको छ । जति धेरै उत्पादन गर्न सक्यो त्यति हामीलाई फाइदा छ ।’ उनले यो कार्यलाई निरन्तरता दिन गाउँपालिकालाई आग्रह गरे ।

गाउँपालिकाको पशु सेवा शाखाको दूधमा अनुदान कार्यक्रमअन्तर्गत उत्पादनका आधारमा पालिकाले चालू आर्थिक वर्षमा कृषकलाई १४ लाख ९८ हजार ५८२ अनुदान रकम उपलब्ध गराएको छ ।

गाउँपालिकाले प्रतिलिटर ९ रुपैयाँ २० पैसाका दरले उत्पादनका आधारमा अनुदान दिने नीतिबमोजिम ३ वटा सहकारीमा आबद्ध कृषकलाई उत्पादनका आधारमा अनुदान रकम वितरण गरिएको छ । म्याग्दे दुग्ध उत्पादक सहकारी संस्थामार्फत दूध बिक्री गर्ने कृषकलाई ११ लाख २१ हजार १८५, गौसेवा दुग्ध उत्पादक सहकारीमार्फत दूध बिक्री गर्ने कृषकलाई २ लाख १२ हजार २३२ र साँगे चारहजार दुग्ध उत्पादक सहकारीमार्फत दूध बिक्री गर्ने कृषकलाई १ लाख ६५ हजार १६३ रुपैयाँ रकम वितरण गरिएको पशु सेवा शाखा प्रमुख डा. विनय शाहले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्