३१ असार २०८३, बुधबार

सरसर्ती २४ घण्टा : देशभर कहाँ के–के भए ?

असार २४, २०८०
काठमाडौं
सरसर्ती २४ घण्टा : देशभर कहाँ के–के भए ?

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
समाजवादी मोर्चा नेपालले आगामी नीति र आचारसंहिता बनाउनका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ ।
शनिवार एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको बैठकले एकीकृत समाजवादीका उपाध्यक्ष रमेश हमाल, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ र नेकपाका नेता खड्गबहादुर विश्वकर्मा रहेको कार्यदलका गठन गरेको हो ।

कार्यदलले मार्चाको आगामी नीति तथा कार्यक्रम, आचारसंहिता र बैठकको अध्यक्षताको मोडालिटी तयार गर्नेछ । 
तर मोर्चाको अध्यक्षता ६–६ महिनामा परिवर्तन गर्ने लगभग समझदारी भइसकेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।
मोर्चाको अर्को बैठकले अध्यक्षताका सन्दर्भमा मोडालिटी नबनाउँदासम्म माधव नेपालले बैठकको अध्यक्षता गर्ने उनले जानकारी दिए ।
००००
यसैबीच एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डेले एमालेले स्पष्टिकरणको मौका समेत नदिई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेर गल्ती गरेको टिप्पणी गरेका छन् । 

मोर्चाको बैठकपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा मागेर एमाले फसेको दाबी गरे ।
००००
तर, एमालेका महासचिव शङ्कर पोखरेलले एमालेले सत्तालाई प्राथमिकतामा नदिएको बताएका छन् ।
नेकपा एमाले रामेछाप–काठमाडौँ सम्पर्क मञ्चले शनिबार आयोजना गरेको अभिमुखीकरणमा उनले कमजोरको सहकार्यबाट राष्ट्र निर्माण हुननसक्ने भएकाले अहिले एमालेले सत्तालाई प्राथमिकता नदिएको बताए ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीले जनताका मुद्दालाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । 
उनले रास्वपा सरकारमा जाँदा पनि जनताका मुद्दालाई पहिलो प्राथमिकतामा राखेर गएको समेत दाबी गरे । 

रास्वपा लुम्बिनी प्रदेश कमिटीको आयोजनामा भैरहवामा आयोजित प्रदेशस्तरीय दुईदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउनु हुँदैन भनेर रास्वपाले कहिलै नभनेको बताए । उनले के कुरामा विरोध गर्ने र के कुरामा विरोध नगर्ने भन्नेमा रास्वपा स्पष्ट रहेको पनि बताए ।
००००
नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नयाँ दलहरूको हविगत पनि पूराना राजनीतिक पार्टीहरूको जस्तै हुने दाबी गरेका छन् । 
पार्टीनिकट कानून व्यवसायीहरूको संगठन ‘समाजवादी पेशागत कानून व्यवसायी संगठन’ले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव भुसालले दलाल र पूँजीवादले मुलुकमा ल्याएको समस्या समाधान गर्ने बाटोमा कुनै कदम नचालेकाले नयाँ दलको पनि छिट्टै बेहाल हुने उनले बताए ।
००००
नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा बाबुराम भट्टराई र नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव मोहन वैद्यबीच भेटवार्ता भएको छ ।
शनिवार लामो समयपछि वैद्यलगायतका नेताहरूसँग भेटवार्ता भएको भट्टराईले जानकारी दिएका छन् । 
००००
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकता विधेयकका विषयमा प्रमुख जिल्ला अधिकारी (सीडीओ)सँग छलफल गरेका छन् । 
संशोधित नागरिकता ऐन कार्यान्वयनमा आएसँगै मन्त्री श्रेष्ठले शनिवार भर्चुअल माध्यमबाट ७७ जिल्लाकै सीडीओसँग छलफल गरेका हुन् ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको निर्णयको केन्द्र काठमाडौं भएको बताएका छन् । 
शनिवार राप्रपा सम्पर्क समाज समन्वय विभागको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयतामा गए पनि काठमाडौंले गरेको निर्णय देशभर लागू हुने गरेको बताए ।
००००
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा आगामी साउन १ गतेदेखि ओपिडी सेवा बिहान ८  बजेदेखि उपलब्ध हुने बताएका छन् । 
मन्त्री बस्नेतले आगामी दुई साताभित्र मुलुकका सबै सङ्घीय अस्पतालका सबै शय्या निःशुल्क बनाइने पनि जानकारी दिए ।
००००
मधेस प्रज्ञा प्रतिष्ठानले मधेसको इतिहास लेखन प्रारम्भ भएको जनाएको छ । मधेसको इतिहास लेखनसम्बन्धी बर्दिबास–४ माईस्थानमा शनिबार सम्पन्न दुईदिने अन्तर्राष्ट्रिय गोष्ठीको समापन गर्दै प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडी ‘भ्रमर’ ले इतिहास लेखनको कार्य गोष्ठीसँगै प्रारम्भ भएको घोषणा गरे ।
००००
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु अहिले देशको आवश्यकता भएको बताएका छन् । शनिवार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सके आफू र नसके आफ्नो पुस्ताको व्यक्तिलाई प्रधानमन्त्री बनाउन लाग्ने बताए ।
००००
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकार यसरी नै चलिरहे २०८४ सालको चुनावमा जुनपार्टीसँग मिले पनि कांग्रेसले निर्वाचन जित्न नसक्ने बताएका छन् । 
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेससमेत सहभागी सरकारले राम्रो काम गरेर जनतालाई विश्वास दिनसके २०८४ सालमा कुनै पनि नयाँ पार्टीबाट कांग्रेस डराउनु नपर्ने बताए ।
००००
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई), २०७९ मा सहभागी विद्यार्थीले प्राप्त ग्रेडमा चित्त नबुझेमा पुनर्योगका लागि आगामी साउन ५ गतेसम्ममा आवेदन दिन सूचना प्रकाशन गरेको छ ।

बोर्डले माध्यामिक शिक्षा परीक्षा पुरक (ग्रेडवृद्धि) को समयतालिकासम्बन्धी सूचना पनि प्रकाशित गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्