
हेटौँडा । यस वर्षको मनसुन सुरु भैसकेको छ । मनसुनका कारण विभिन्न जिल्लामा बाढी पहिरोले क्षति पुर्याउन सुरु गरिसकेको छ । यसैबीचमा बागमती प्रदेश सरकारले मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्य योजना आज पारित गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठको अध्यक्षता बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले उक्त कार्य योजना पारित गरेको हो । कार्यकारी समितिको बैठकले बागमती प्रदेशमा मनसुनको कारणले हुन सक्ने धनजनको क्षतिलाई न्यूनीकरण गर्न अपनाउन पर्ने सावधानी, पूर्व तयारी र उद्धार सम्बन्धी प्रतिकार्यको योजना निर्माण गरेको छ । बैठकले विभिन्न विषयगत क्षेत्रमा कार्य गर्नेगरी प्रदेश सरकारका विषयगत मन्त्रालयहरू र गैरसरकारी सङ्घसंस्थाहरूका लागि विषयगत क्षेत्र तय गरी ती मन्त्रालयको ठोस ठोसमा कार्य जिम्मेवारीसमेत तोकेको छ ।
मुख्यमन्त्रीको अध्यक्षतामा रहेको प्रदेश विपद् व्यवस्थापन परिषद्ले प्रदेशमा विपद्सँग सम्बन्धित पूर्वतयारीदेखि पुनर्लाभसम्मका कार्यका लागि प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिलाई निर्देशन दिनेछ भने आन्तरिक मामिला तथा कानूनमन्त्रीको अध्यक्षतामा रहेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले विभिन्न सरोकारवाला निकायहरूसँग निरन्तर समन्वय गरी प्रतिकार्यका लागि चाहिने सामाग्री साथै राहत सामग्रीहरूको प्रबन्ध गर्ने, भण्डारण गर्ने र वितरण गर्ने काम गर्नेछ। त्यस्तै प्रदेश विपद् कोष सञ्चालन समितिले प्रदेश विपद् व्यवस्थापन परिषद् र कार्यकारी समितिबाट निर्देशन भए बमोजिम आवश्यक रकम कोषबाट खर्च गर्न सक्ने छ ।
आजको बैठकले सम्पूर्ण विषयगत मन्त्रालयहरूका सचिव, सुरक्षा निकायका प्रमुखहरू र गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा पूर्व तयारी तथा प्रतिकार्य योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न मन्त्री श्रेष्ठले निर्देशन दिए । साथै आज एक कार्यक्रमका बिच मन्त्री श्रेष्ठले बागमती प्रदेश प्रहरी कार्यालयको लागि प्रहरी नायव महानिरीक्षक किरण राणालाई ड्रोन हस्तान्तरण गरे ।
बैठकमा मुख्यमन्त्री कार्यालयसहित सरोकारवाला मन्त्रालयका सचिवहरू, आन्तरिक मामिला मन्त्रालयका सचिव, नेपाल रेडक्रस, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रदेश प्रमुखहरूको उपस्थिति रहेको थियो ।