![दुबईमा १५ नेपाली अलपत्र, खान/बस्न देऊ भन्दा 'गुण्डा' लगाएर कुटपिट [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/Dubai_alpatra_P14SpmtDis.png)
संयुक्त अरब इमिरेट्सको दुबईमा १५ जना नेपाली अलपत्र परेका छन् ।
आफूहरूलाई काम तथा खान र बस्न पनि नदिएर अलपत्र पारेको पीडितहरूले लोकान्तरलाई बताएका छन् ।
‘हामीलाई ८ महिनादेखि काम दिएका छैनन्, पछिल्लो समय खान/बस्न पनि नदिएर अलपत्र पारेका छन्,’ लोकान्तरको सम्पर्कमा आएका एक पीडितले भने ।
खान/बस्न र नेपाल फर्काउने व्यवस्था गरिदिनुपर्यो भनेर आफूहरूलाई लैजाने व्यक्तिलाई भन्दा गुण्डा लगाएर कुटपिट गरेको उनीहरूको गुनासो छ ।
कुटपिटको भिडियो समेत लोकान्तरले प्राप्त गरेको छ ।
पीडितमध्ये एक महिलालाई लछारपछार पारेर हात भाँचिने गरी कुटपिट गरिएको पीडितहरूले बताएका छन् ।
आफूहरूलाई अलपत्र पार्ने मुख्य नाइके दुबईमा सिल्भरलाइन फ्यासिलिटी म्यानेजमेन्ट सर्भिसेज सञ्चालन गर्ने पर्वत डाँडाखर्कका विजय सुनार र उनका सहयोगी झापाको शिवसताक्षी मैधरका ओमप्रकाश भन्ने अनुप थापा रहेको पीडितले लोकान्तरलाई बताएका छन् ।


उनीहरूले १ वर्षअगाडिदेखि दुबईमा पेट्रोल पम्प खोल्न लागेको र त्यहाँ कर्मचारी चाहिएको भन्दै १८ जनालाई भिजिट भिसामा दुबई लगेका थिए ।
सुनारले एकजना व्यक्तिबाट ५ लाख र अन्य व्यक्तिबाट २ लाख १० हजारका दरले पैसा लिएको उनीहरूको गुनासो छ ।
पीडितले सुनारलाई बुझाएको पैसाको प्रमाण समेत लोकान्तरले प्राप्त गरेको छ ।

सुनारले प्रतिव्यक्ति १ लाख रुपैयाँ कमाइ हुने भन्दै प्रलोभनमा पारेर दुबई लगेको पीडितले बताएका छन् । उनीहरूले पीडितहरूलाई त्यहाँ गोल्डेन भिसा भन्दै नक्कली कागजात समेत उपलब्ध गराएर विश्वासमा लिएको पाइएको छ ।
काम दिन नसकेपछि आफूहरूलाई काम उपलब्ध गराइदिनुपर्यो भन्दा उल्टै मान्छे लगाएर कुटपिट गरेको एक पीडितले बताए ।
‘हामीलाई कि काम देऊ, कि खान देऊ भन्दा गुण्डा लगाएर कुटपिट गरेका छन्,’ एक पीडितले लोकान्तरसँग भने ।
हेर्नुहोस्, भिडियो :

