
हालसम्मकै ठूलो परिमाणमा सुन बरामद भएपछि राजस्व अनुसन्धान विभागले ठूला सुन व्यापारीको कल डिटेल्स हेर्न शुरू गरेको छ ।
हङकङबाट तस्करी गरेर आएको सुन बरामद भएपछि विभागले अनुसन्धानको दायरा फराकिलो बनाएको हो ।
‘ठूलो मात्रामा सुन बरामद भएपछि शंकास्पद व्यक्तिमाथि छानबिन शुरू भएको छ,’ अनुसन्धानमा खटिएका एक अधिकारीले लोकान्तरसँग भने, ‘ठूला सुन व्यापारी र केही भीआईपीको पनि कल डिटेल्स हेरिरहेका छौं ।’
यसअघि सुन तस्करीमा केही राजनीतिक दलका नेताको नाम समेत जोडिएको थियो ।
बरामद सुनको मात्राले पक्राउ परेका व्यक्ति भरिया मात्र हुन सक्ने र माथि नै कोही संलग्न रहेको आशंकामा अनुसन्धानको दायरा फराकिलो बनाइएको ती अधिकारीले बताए ।
मोटरसाइकल र स्कूटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको झण्डै १ क्विन्टल सुन बुधवार बरामद भएको थियो ।
बरामद सुन वास्तविक तौल र गुणस्तर मापन तथा सुरक्षित भण्डारणका राष्ट्र बैंक पठाइएको छ ।
यसैबीच, विमानस्थल भन्सारमा तस्करीको अरू पनि सुन रहेको आशंकामा राजस्व अनुसन्धान विभागको टोलीले बिहीवार पनि भन्सार गोदाम निरीक्षण गरेको छ ।