०२ साउन २०८३, शनिबार

एमालेको दाबी- पार्टीको सदस्य सङ्ख्या घटेको छैन, अद्यावधिक गर्ने क्रममा नवीकरण नभएको मात्रै हो

साउन ४, २०८०
काठमाडौं
एमालेको दाबी- पार्टीको सदस्य सङ्ख्या घटेको छैन,  अद्यावधिक गर्ने क्रममा नवीकरण नभएको मात्रै हो

नेकपा (एमाले)ले पार्टीमा रहेका सङ्गठित सदस्यहरूको सङ्ख्या नघटेको दाबी गरेको छ । एमालेका सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले आज (बिहीवार) विज्ञप्ति गर्दै एमालेको सदस्य सङ्ख्या नघटेको दाबी गरेका हुन् । 

'नेकपा (एमाले) को सदस्य घटे भन्ने बजार हल्लामा कुनै सत्यता छैन,' उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'सच्चा पार्टी सदस्यको अभिलेख अद्यावधिक गर्ने क्रममा यसपटक नवीकरण मात्रै भएको छैन, उल्लेख्य सङ्ख्यामा नयाँ कमरेडहरू सदस्यताको प्रक्रियामा आएका पनि छन् ।'

उनले प्रत्येक वडामा मतदाता सङ्ख्याको कम्तीमा तीन प्रतिशत सदस्य पुर्‍याउने र पार्टीको एघारौँ महाधिवेशनसम्ममा १० लाख गुणस्तरीय सदस्य पुर्‍याउने लक्ष्य रहेको उल्लेख गरे ।

एमालेले दशौँ महाधिवेशनका बेला रहेको त्रुटिलाई पनि सच्याउने क्रममा अहिले वास्तविक पार्टी सदस्य सङ्ख्या रहेको स्पष्ट पारे । एमालेले महाधिवेशनको आयोजना नभएको समयमा अहिले सक्रिय सदस्यको यथार्थ सङ्ख्या र योग्यतम सदस्यको मात्र नवीकरण गरिएको उनले बताए ।

'दशौँ महाधिवेशनमा कायम भएका सदस्यमा एकातिर एकीकृत समाजवादीतर्फ गएका सबै सदस्यको नाम यथावत् कायम थियो भने अर्कोतिर नेकपाकालमा अनुचित ढङ्गले दिइएका सदस्यको ठूलो सङ्ख्या पनि त्यसमा पर्न गएको थियो । तसर्थ, त्यो एमालेको वास्तविक सदस्य सङ्ख्या थिएन,' उनले भने, 'यो कुरा नवौँ महाधिवेशनको आँकडा हेर्दा पनि स्पष्ट हुन्छ । विसं २०७१ मा सम्पन्न भएको नवौँ महाधिवेशनमा दुई लाख ५६ हजार सात सय ७२ जना मात्रै पार्टी सदस्य थिए ।'

सङ्गठन विभाग प्रमुख अधिकारीले एमालेले यसअघि महाधिवेशनदेखि महाधिवेशनमा मात्रै सदस्यको सदस्यता नवीकरण हुने गरेको र जसले गर्दा निष्क्रिय सदस्यले पनि नवीकरण गर्ने अवसर पाउने गरेको उल्लेख गरे ।
 
'नेतृत्वका आकाङ्क्षीबाट कतिपय अवस्थामा अन्य भोटर सदस्यको शुल्क तिरिने, दबाब दिएर कमिटीमा निर्णय गराइनेजस्ता अनियमित कामका कारण अनुचित ढङ्गले पनि सङ्ख्या बढ्न पुग्थ्यो । एमालेको इतिहासमा यसपटक त्यसमा क्रमभङ्ग गरिएको छ,' विज्ञप्तिमा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्