
भुवन चैत्य वसुन्धारा फाउन्डेसनले प्रदान गर्दै आइरहेको सम्मान तथा पुरस्कार यसै महिना प्रदान गर्ने भएको छ ।
फाउन्डेसनका अध्यक्ष भुवन थापा चन्दले बाँकी रहेका २ वर्षको ६ पुरस्कार प्रदान गर्ने निर्णय भएको जानकारी दिए ।
उनले भने, ‘बैठकमार्फत नै पुरस्कारबारे निर्णय गरेका छौं । नेपाली कला, संस्कृति, रंगमञ्च, गीत, संगीत, साहित्य, समाजसेवामा सक्रिय व्यक्तित्वलाई प्रोत्साहन मिलोस् भन्ने उद्देश्यअनुरूप यो पुरस्कार प्रदान गर्ने गरेका छौं ।’
उनले दिएको जानकारी अनुसार विक्रम संवत् २०७८ सालको ‘हरिश–भुवन चन्द पुरस्कार २०७८’ चलचित्रकर्मी यादव खरेल, ‘चैत्यदेवी पुरस्कार २०७८’ संगीतकर्मी गणेश रसिक र ‘चेतनारायण–वसुन्धरा भुसाल पुरस्कार २०७८’ अभिनेत्री मिथिला शर्मालाई प्रदान गर्ने निर्णय भएको छ ।
विक्रम संवत् २०७९ तर्फ ‘हरिश–भुवन चन्द पुरस्कार २०७९’ चलचित्रकर्मी नीर शाह, ‘चैत्यदेवी पुरस्कार २०७९’ अभिनेता शिव श्रेष्ठ र ‘चेतनारायण–वसुन्धरा भुसाल पुरस्कार २०७९’ अभिनेत्री शर्मिला मल्ललाई प्रदान गर्ने निर्णय भएको अध्यक्ष थापाले जानकारी दिए ।
फाउन्डेसनका अध्यक्ष थापाले यसै महिनाभित्र १ समारोहको आयोजना गर्दै घोषणा गरिएको पुरस्कार प्रदान गरिने बताए । पुरस्कारमा जनही नगद राशि ५१ हजार रुपैयाँ समेत राखिएको छ । विक्रम संवत् २०७५ सालमा स्थापना भएको फाउन्डेसनले हरेक वर्ष पुरस्कार प्रदान गर्ने गरेको छ ।