
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थिगत भएका छौँ–
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन उनी शनिवार साँझ इटालीतर्फ प्रस्थान गरेका हुन् । शिखर सम्मेलन यही साउन ८ देखि १० गतेसम्म आयोजना हुँदैछ ।
००००
यसैगरी उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खडकाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।
प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री खड्कालाई दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका राष्ट्रपति कार्यालयले जनाएको छ ।
००००
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड युरोपेली देश इटाली भ्रमणमा निस्किएपछि यो अवधिका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई दिइएको हो ।
००००
राजस्व अनुसन्धान विभागले गत बुधवार बरामद गरेको अवैध सुनबारे विस्तृत अनुसन्धानका लागि पाँच जना अधिकृत तोकेको छ । विभागले उनीहरूको नाम भने सार्वजनिक गरेको छैन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैधरूपमा नेपाल भित्रिएको ठूलो परिमाणको सुन विभागले बरामद गरेको थियो । यो प्रकरणमा हालसम्म पक्राउ परेका १० जनालाई अनुसन्धानका लागि म्याद थप गरेर बयान लिने क्रम चलिरहेको छ ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्री हुन सेनबीच भेटवार्ता भएको छ । कम्बोडिया सरकारको निमन्त्रणामा निर्वाचन पर्यवेक्षकका रुपमा त्यहाँ पुगेका अध्यक्ष ओली र कम्बोडियाको प्रधानमन्त्रीबीच शनिबार बिहान भेटवार्ता भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ ।
००००
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले सामायोजन गरिएको शुल्क नबढाउने निर्णय गरेको छ ।
विद्यार्थी सङ्गठनबीच भएको सहमतिअनुसार समायोजन गरिएको शुल्क अहिले तत्काल नबढाउने निर्णय गरेको हो ।
परिषद्का सूचना अधिकारी एकराज अधिकारीले अहिले तत्कालका लागि समायोजन गरिएको शुल्क स्थगन गरिएको जानकारी दिए ।
००००
बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले रु ५० लाखसम्मका साना योजना स्थानीय तहमा पठाइने बताएका छन् ।
मकवानपुरको बकैया गाउँपालिका–५ का भूमीहीन सुकुम्वासी तथा दलितलाई जग्गाधनी प्रमाणपूर्जा वितरणका क्रममा मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले जिल्लाका निश्चित आयोजना र प्रदेश गौरवको आयोजना मात्रै हेर्ने तथा रु ५० लाखभन्दा कम लागतका योजना स्थानीय तहमा पठाइने स्पष्ट पारे ।
००००
कोशी प्रदेशका मुख्यमन्त्री तथा कांग्रेस प्रदेश सभापति उद्धव थापाले कोशी प्रदेशमा पार्टी नेतृत्वकै सरकार कायम रहने बताएका छन् ।
सुनसरी सदरमुकाम इनरुवामा नेपाली कांग्रेस सुनसरीको जिल्ला सम्मेलनमा मुख्यमन्त्री थापाले उक्त दाबी गरेका हुन् । वर्तमान कांग्रेस नेतृत्वको सरकारले जनतालाई अनुभूति हुने गरी काम गर्ने समेत उनको भनाइ छ ।
००००
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको मतभेद हटाउन सके आगामी चुनावमा बहुमत आउने बताएका छन् ।
००००
यही साउन १ गतेदेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन पुनः सुरु गरिएको छ । फोहोर व्यवस्थापन स्थलका स्थानीयले अवरोध गरेपछि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन रोकिएको थियो ।
००००
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धनलाई तोड्ने अनेक षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।
कांग्रेसलाई कम्युनिस्टहरूको शत्रु हो भन्ने पारेर पनि सत्तारुढ गठबन्धन फुटाउने सक्ने भएकाले त्यसप्रति सचेत रहन पनि उनले आग्रह गरेका छन् ।
००००
बाँकेमा गत आर्थिक वर्षमा एक सय ६० घरेलु तथा साना उद्योग बन्द भएका छन् ।
कार्यालयमा गएर आधिकारिकरुपमा बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण हुन नसकेका एक सय ६० उद्योग खारेजीमा परेको जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख रमेशबहादुर बुढाथोकीले बताए ।
००००
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतबीच भेटवार्ता भएको छ।
अध्यक्ष बस्नेतले सुन प्रकरणमा दिएको अभिव्यक्तिविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी परेपछि उनी मन्त्री श्रेष्ठलाई भेट्न पुगेका हुन् ।
गृहमन्त्रीलाई भेटेर उनले गलत स्रोतका कारण मन्त्री श्रेष्ठको प्रतिष्ठामा असर परेकोमा दुःख व्यक्त गरेका छन् । बस्नेतले माफी मागेसँगै उनीविरुद्ध दायर उजुरी फिर्ता भएको छ ।
००००
काठमाडौंको ठमेलस्थित एलओडी क्लबले कानूनको परिधिभित्र रहेर व्यवसाय गरिरहेको स्पष्ट पारेको छ । कानूनभन्दा माथि कोही पनि नरहने स्पष्ट पार्दै क्लबले कानून पालना गर्न सधैँ तयार रहेको स्पष्ट पारेको हो ।
००००
जुम्लाको गुठीचौर गाउँपालिकामा अज्ञात समूहले सात घरमा आगजनी गरेको छ । गुठीचौर–४ स्थित विभिन्न गाउँका सात घरमा आगजनी भएको वडाध्यक्ष टीकादत्त न्यौपानेले जानकारी दिए ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेटिङकै भरमा सुन आएको दाबी गरेका छन् । शनिवार रास्वपा कार्यालय विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले कुन ढंगको मिलेमतो हो भन्ने चाहिँ अनुसन्धानबाट मात्रै खुल्ने उनले बताए
००००
शुक्रवार बेलुका सार्वजनिक प्रकाश सपूतको गीत ‘दमाई महाराज’ले लोभलाग्दो भ्युज पाएको छ ।
शनिवार बिहानसम्म यो गीतलाई युट्युबमा ९ लाख हाराहारीले हेरिसकेका छन् । गीत युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा पुगेको छ ।