
नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले नेपाली कांग्रेसले बनाएका राष्ट्रपतिको उपचार खर्च विवाद निकालिएको भन्दै आपत्ति जनाएकी छिन् । राष्ट्राध्यक्षले पाउने उपचार खर्चको मापदण्ड सार्वजनिक गर्न उनले स्वास्थ्य मन्त्रीसँग आग्रह गरिन् ।
कांग्रेस केन्द्रीय समितिको पाँचौ दिनको बैठकलाई आइतवार सम्बोधन गर्दै डीनाले विगतका राष्ट्रपतिले कति उपचार खर्च लिएका छन् भन्ने पनि सार्वजनिक गर्न माग गरिन् ।
‘राष्ट्रपतिको औषधी उपचार खर्चको कुरा उठेको छ, विगतमा राष्ट्राध्यक्षले पाएको मापदण्ड के हो ? विगतकाले कति लिए, त्यो उठाउने कि नउठाउने ? अहिलेको किन उठिरहेको छ ?’ डीनाले भनिन्, ‘हिजोकाले कति लिए, आजकाले कति लिए सुसूचित गरियोस् ।’
फरक प्रसंगमा उनले नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका बालकृष्ण खाणको मुद्दा अदालतमा विचाराधीन रहेकाले उनलाई अपराधी करार नगर्न माग गरिन् ।
‘न्यायालयमा विचाराधीन मुद्दालाई प्रभाव पार्ने काम भएको छ, यसमा छानबिन होस् । आफ्नै साथी त्यहाँ पर्दै गर्दा हामी खुशी भएका हौं र आरोप लाग्दैमा विचाराधीन मुद्दालाई उनलाई दोषी प्रमाणित गर्ने हो भने जिल्लामा कार्यकर्तालाई आरोप लाग्दा त्यसको पक्षमा उभिने कि नउभिने ?’ उनले प्रश्न गरिन् ।