कलैया, (बारा), २९ भदौ —बारा सदरमुकाम कलैया उपमहानगरपालिकाको चुनावी चहलपहल बढेको छ । चुनाव प्रचारको समय सकिन दुई दिन बाँकी रहदा विभिन्न राजनीतिक दलका उम्मेदवारहरुलाई चुनावी सभा, घरदैलो जस्ता कार्यक्रम गर्न भ्याइनभ्याइ छ ।

कलैयाका स्थानीयवासीहरुका अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, संघीय समाजवादी फोरमबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । माओवादी केन्द्र र राजपा नेपालपनि प्रतिस्पर्धाको दौडमा उत्रिएका छन् ।
उपमहानगरपालिकाको मेयरका लागि एमालेबाट विनोद साह, कांग्रेसबाट राजेश यादव, फोरमबाट प्रमोद गुप्ता, रापजावाट जयप्रकाश साह र माओवादी केन्द्रबाट मुकेश साह चुनावी मैदानमा छन् । गुप्ता पहिलो संविधानसभामा फोरमबाट प्रत्यक्ष निर्वाचित सभासद् भएका थिए भने दोस्रो पटकको चुनावमा उनी झिनो मतले पराजीत भएका थिए । श्रम मन्त्री फर्मुल्लाह मन्सुरसँग ९ सय मतले पराजीत गुप्ता यहाँको बलियो उम्मेदवार मानिएका छन् ।

एमालेका उम्मेदवार साह उद्योग वाणिज्य संघ कलैयाका अध्यक्ष भएकोले पनि व्यापारीहरुको समर्थन उनलाइ छ । कांग्रेस गढ र मन्त्रीको चुनावी क्षेत्र भएकोले आफूहरुले चुनाव जित्ने कांग्रेसको दावी छ । मधेस आन्दोलनका कारण राजपा र माओवादीले पनि मेयरको सिट जित्ने दाबी गरिरहेको छ ।
उपमेयरमा कांग्रेसले रहिमा खातुन, एमालेले प्रतिमा यादव, राजपाले पिंकी यादव, फोरमले लक्ष्मी पटेललाई उठाएका छन् । अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरुले समेत भड्किलो प्रचार प्रसार गरेका छन् ।
बारा सदरमुकाम कलैया १ मा बुधवार साँझ केही बुद्धिजीवी र अगुवाहरु एकै ठाउँमा भेला भएका थिए । लोकान्तरसँग उनीहरुले खुलेर कुरा गरे ।

स्थानीय ४५ वर्षीय सन्तोष कुमार दास राजपा वा फोरमले चुनाव जित्ने दाबी गर्छन् । ‘गत संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसले चुनाव जितेको भएपनि र एमालेको बलियो संगठन भएपनि माहौल राजपाको पक्षमा देख्दैछु’ नजिकै कांग्रेसको सभालाई डा शेखर कोइरालाले चुनावी सभालाई सम्बोधन गरिरहेको तर्फ देखाउदै दासले लोकान्तरसँग भने, ‘कांग्रेसले पनि संविधान संशोधन पास गराउन नसकेका कारण जनताको सहानुभूति राजपातर्फ जानु पर्ने हो, तर उम्मेदवार बलियो फोरमको भएका कारण नतिजा फोरमतर्फ जान सक्छ ।’

उम्मेदवारले आश्वासनका पुलिन्दा बाढेपनि स्थानीयहरु कलैयाको भौतिक पूर्वाधारको विकास नभएकोमा राजनीतिक दलहरुप्रति आक्रोशित देखिन्छन् ।
कलैया उद्योण वाणिज्य संघका पूर्वअध्यक्ष सञ्जयकुमार गुप्ता २० बर्ष पछि भएको स्थानीय चुनावमा जनताहरु उत्साहित देखिएका छन् ।

‘जनताले उम्मेदवारहरुबाट विकास बाहेक केहीपनि आशा राखेका छैनन्, तर ती उम्मेदवारहरु मतदाताको आकाक्षा पूरा गर्न कति सफल हुनेहुन शंका छ’ उनले लोकान्तरसँग भने, ‘उपमहानगरपालिका भएपनि यो, गाउँ जस्तो छ, सडक छैनन्, शिक्षा, स्वास्थ्यमा पनि पछाडि परेको छ ।’ विरगञ्ज महानगरपालिकाको छेउमै भएपनि कलैया विकासको दृष्टिबाट निकै पछाडि परेको उनको भनाइ छ । गुप्ताले कलैयामा कांग्रेस, एमाले र फोरमबीच त्रिकोणात्मक प्रतिष्पर्धा हुने विश्लेषण गरे ।
नेपाली कांग्रेसका कलैया नगरका पूर्व सभापति दिव्यनाथ श्रेष्ठ कांग्रेसको जति गल्ती भएपनि जनता कांग्रेसको पक्षमा रहेको दाबी गरे । ‘नेतृत्वले कमी कमजोरी गरेपनि जनता भने अन्नतः कांग्रेसतर्फ मोडिने छन, तर राजपालाई कम आंकेका छैनौ’ उनले लोकान्तरसँग भने ।

स्थानीय व्यापारी दिलीप अग्रवाल कलैयाको विकास र व्यापार व्यासायलाई मद्दत गर्ने खालको उम्मेदवारको अपेक्षा गरेपनि त्यस्तो उम्मेदवार नभएको टिप्पणी गरे । ‘कलैयालाई औद्योगिक करिडोरको रुपमा विकास गरेर उद्योग कार्खाना स्थापना गर्न पहल गर्ने मेयर हाम्रो चाहना हो, तर कुनैपनि उम्मेदवार त्यस्तो छैन’ उनले भने, ‘त्यस्तो उम्मेदवार नदेखेकोले कलैयालाई धुलो धुवाबाट मुक्त गर्न सक्ने, उम्मेदवार हाम्रो रोजाइको हुन्छ ।’
विभिन्न राजनीतिक दलका कार्यकर्ता भने आफू निकटस्थलाई टिकट दिने नाममा लोकप्रिय नेताहरु छुटेको बताउँछन् । कतिपय स्थानमा बागी उम्म्ेदवार समेत चुनावी मैदानमा उत्रिएका छन् ।