०१ साउन २०८३, शुक्रबार
कांग्रेस बैठक

देउवाकै अगाडि गगनले भने – नेतृत्व परिवर्तनको प्रयासमा निरन्तर लाग्छु

साउन ८, २०८०
काठमाडौं
देउवाकै अगाडि गगनले भने – नेतृत्व परिवर्तनको प्रयासमा निरन्तर लाग्छु
फाइल फोटो

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा नेतृत्व परिवर्तनको प्रयासलाई निरन्तरता दिने बताएका छन् ।

सांसदको मत पाउने कुरा गाह्रो भन्ने थाहा हुँदाहुँदै पनि संसदीय दलको नेतृत्व परिवर्तनका लागि पनि प्रयास गर्ने उनले बताए । 

कांग्रेस केन्द्रीय समिति बैठकलाई सोमवार सम्बोधन गर्दै महामन्त्री थापाले जीवन्त पार्टीमा नेतृत्व परिवर्तनका लागि निरन्तर प्रयास हुने भन्दै त्यो अभियानमा लागिरहने बताएका हुन् । 

‘नेपालका राजनीतिक दलमा वर्षाैंदेखि नेतृत्व परिवर्तनको बहस चलिरहेको छ । हाम्रा पार्टी जमेको पोखरी जस्तो भएका छन् । ३५ वर्षदेखि केही नेताले आलोपालो गरिरहेका छन् । यो बदल्नुपर्छ भनेर लागेको हो,’ महामन्त्री थापाले भने, ‘सभापतिप्रति व्यक्तिगत रूपमा असिम श्रद्धा छ तर यो विषयले नेपालको राजनीतिमा प्रवेश पाएन भने राजनीतिले सही गति लिँदैन । यसलाई बदल्नुपर्छ, मेरो एड्भोकेसी रहन्छ ।’

महामन्त्री थापाले आफू पार्टी फोड्न नभई संसदीय दलको नेता परिवर्तन गर्न लागेको भन्दै यो अभियान नरोक्ने बताए । ‘मैले संसदीय दलको नेता परिवर्तनको प्रयास गरें, यो प्रयास गर्न मिल्दैन त ? आवश्यकता छैन त ? प्रयास गर्दै गर्ने हो, सांसदको मत पाउने कुरा गाह्रो छ । गाह्रो छ भन्दैमा ठीक काम नगरी बस्न हुन्छ त ?’

थापाले सभापति शेरबहादुर देउवातर्फ हेर्दै भने, ‘सभापतिले १–२ महिनापछि म ५ पटक प्रधानमन्त्री भइसकें, अब हुन्न, को हुने हो भनेर भन्नुहुन्छ कि ? जो हुन्छ मैले साथ दिने हो । कोही अगाडि नबढ्दा म अगाडि बढेको हो ।’

थापाले पार्टीभित्र बहस मन्थन भए पनि कांग्रेस बैठक सकिँदा देशलाई भरोसा दिने निर्णय गरेर अगाडि बढ्नुपर्ने बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्