०३ असार २०८३, बुधबार

ललिता निवास प्रकरणमा सीआईबीको ‘एक्सन’ : हालसम्म २२ जना पक्राउ

साउन ८, २०८०
काठमाडौं
ललिता निवास प्रकरणमा सीआईबीको ‘एक्सन’ : हालसम्म २२ जना पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली मोही बनेर जग्गा हिनामिनामा सघाएको आरोपमा सोमवार ललितपुरबाट २ जनालाई पक्राउ गरेको छ । 

सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले नक्कली मोही बनेर जग्गा हडप्ने कार्यमा संलग्न रहेकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा ललितपुर निवासी सञ्जयकुमार महर्जन र अर्का सकुलानन्द महर्जन रहेका छन् । उनीहरूसँगै अहिलेसम्म सीआईबीले २२ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । 

यसअघि आइतवार पनि प्रहरीले नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठलाई पक्राउ गरेको थियो ।

यसअघि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार शाह, पूर्व सरकारी कर्मचारी सहितका व्यक्तिहरू पक्राउ परिसकेका छन् । उनीहरूविरुद्ध मुलुकी ऐन २०२० को कीर्ते सम्बन्धी कसूर र संगठित अपराध कसूरमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

विक्रम संवत् २०४९ देखि २०६९ सालको अवधिमा सरकारका नाममा रहेको बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना भएको थियो । यसअघि सीआईबीले अनुसन्धान सकेर ३०० जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय सहितको प्रतिवेदन बुझाएको थियो तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने भन्दै प्रतिवेदन फिर्ता गरेको थियो । त्यसपछि अहिले पुनः सीआईबीले मुद्दामा अनुसन्धान गरिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्