०७ साउन २०८३, बिहीबार

आगन्तुक सहकारीका अध्यक्ष घर्ती १२ लाख धरौटीमा रिहा, बजार प्रमुख ज्ञवाली पनि छुटे

साउन १२, २०८०
बुटवल
आगन्तुक सहकारीका अध्यक्ष घर्ती १२ लाख धरौटीमा रिहा, बजार प्रमुख ज्ञवाली पनि छुटे

बचतकर्ताको करोडौं रकम अपचलन गरेको आरोपमा पक्राउ परेको बुटवलस्थित आगन्तुक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजु घर्ती धरौटीमा रिहा भएका छन् ।

अध्यक्ष घर्तीलाई जिल्ला अदालत रूपन्देहीले मंगलवार १२ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको थियो । यसैगरी सहकारीका मार्केटिङ हेड सुरज ज्ञवालीलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतका श्रेस्तेदार शोभाखर अर्यालले जानकारी दिए । न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले उनीहरूलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

तर घर्तीलाई पहुँचका भरमा उन्मुक्ति दिइएको बचतकर्ताले आरोप लगाएका छन् ।

सहकारीलाई समस्याग्रस्त बनाएर सम्पर्क फरार भएका घर्तीलाई जिल्ला प्रहरी कार्यालय, रूपन्देहीले केही समय अघि पक्राउ गरेको थियो । घर्तीविरुद्ध ३३५ जना बचतकर्ताले रकम फिर्ताको माग गर्दै जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जाहेरी दर्ता गराएका थिए । बुटवल र भैरहवाका बचतकर्ताबाट ४ करोड ३६ लाख ६० हजार ४१९ रूपैयाँ फिर्ताको माग गर्दै उजुरी परेको थियो ।

बचतकर्तालाई रकम फिर्ता गर्न नसकेपछि सञ्चालक घर्तीकै अग्रसरतामा गत मंसिर १७ गते विभिन्न ९ सहकारी संस्थासँग मर्जर गरेको कुरा सार्वजनिक समेत गरेका थिए ।

मर्जर गरेको भनेर बचतकर्तालाई ढाँटेका सञ्चालक कार्यालय बन्द गरेर भागेपछि उनीविरुद्ध बचतकर्ताले जाहेरी दर्ता गरेका थिए ।

कमेन्ट गर्नुहोस्