२५ असार २०८३, बिहीबार

बाढीपहिरोबाट १३ परिवार विस्थापित, दर्जनौं घर जोखिममा

साउन १३, २०८०
बाजुरा
बाढीपहिरोबाट १३ परिवार विस्थापित, दर्जनौं घर जोखिममा

बाढी र पहिरोका छुट्टाछुट्टै घटनामा बाजुराका १३ परिवार विस्थापित भएका छन् ।

शुक्रवार आएको बाढी र पहिरोका कारण हिमाली र गौमूल गाउँपालिकामा १३ परिवार विस्थापित हुनुका साथै दर्जनौं घर जोखिममा परेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

हिमाली गाउँपालिका–३ युनामा शुक्रवार घरमाथिबाट आएको पहिरोमा परी दीपलाल बुढाको घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिं कठायतका अनुसार शुक्रवार बिहान साढे ८ बजे आएको पहिरोले बुढाको घरसहित घरभित्र भएका अन्नपात, लुगा कपडा बगाएको हो । 

पहिरोले घर बगाएपछि ३ परिवारको बिचल्ली भएको छ । उनीहरूको सुरक्षित बासका लागि वडाध्यक्षसँग पहल भइरहेको प्रहरी निरीक्षक कठायतले जानकारी दिए । पहिरोका कारण सोही वडाका १० घर जोखिममा परेको प्रहरीको भनाइ छ । युनामा रहेको आधारभूत स्वास्थ्य चौकी पनि पहिरोको जोखिममा परेको छ । 

गौमूल गाउँपालिका–३ मा आएको पहिरोमा परी १२ परिवार विस्थापित बनेका छन् । लगातारको वर्षापछि आएको पहिरोका कारण बेहरीका ५ र ढल्काँडाका ७ गरी १२ परिवार विस्थापित बनेको गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाले जानकारी दिए ।

उनका अनुसार बेहरीका चीन रोकाया, सुरेश रोकाया, कृष्ण विक, पुष्प विक र जोगी विकको परिवार विस्थापित भएको छ । ढल्काँडाका राजेन्द्र धामी, भानबहादुर बोहरा, वसन्त बोहरा झाँक्री बोहरा, गङ्ग बोहरा अफिलाल बोहरा, ब्रिजित बोहराको परिवार विस्थापित बनेको छ । 

पहिरोले सिंगो बस्ती नै विस्थापित गर्ने गरी खसेको छ । दिउँसोको समयमा पहिरो खसेकाले मानवीय क्षति नभए पनि भौतिक नोक्सानी व्यहोर्नुपरेको स्थानीयले बताएका छन् । पहिरोका कारण १२ परिवारका ६० जनाभन्दा बढीलाई स्थानीय थुमथला आधारभूत विद्यालयमा राखिएको पालिका उपाध्यक्ष थापाको भनाइ छ । 

घरभित्र राखिएको केही अन्नपात, लत्ता कपडा र अन्य सम्पत्ति भने जोगाउन सफल भएको विस्थापित परिवारको भनाइ छ । वर्षा जारी रहेकाले पहिरो अहिले पनि नियमित बगिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्