
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र तस्करीविरुद्ध जेहाद छेडिएको भन्दै थप फाइल खोल्ने बताएका छन् ।
आइतवार काठमाडौँमा समाजवादी मोर्चाले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राज्यको सम्पत्ति दोहन गर्नेविरुद्ध थप आक्रामक हुने बताएका हुन् । ‘यो सरकार भ्रष्टाचारविरुद्धको अभियानमा छ । राज्यको सम्पत्तिमाथि दोहन गर्ने क्रमलाई हामी परास्त गर्न चाहन्छौं । भ्रष्टाचार र तस्करीविरुद्ध जेहाद छेडिएको छ । यो कदम रोकिंदैन । निरन्तर अगाडि बढ्छ’ प्रचण्डले भने, ‘समाजवादको आधार निर्माण गर्न र समृद्धि नेपालको लागि जनताले यो लडाईं जित्नैपर्छ । यो कुनै आवेग र राजनीतिक स्टन्टको कुरा होइन । नेपाली जनताको हितको निम्ति चालिएको कदम हो । जनताको सपना साकार पार्ने लडाई हो । आउने दिनमा अरु फाइल खुल्दै जानेवाला छन् ।’
प्रचण्डले यो लडाईंमा आम जनता, विद्यार्थी र युवाको पनि साथ र समर्थन आवश्यक भएको बताए । ‘विद्यार्थी साथीहरूले पनि समर्थन गर्नुहोला । आम जनता पनि साथमा भएपछि यो ब्याटल हामी जित्नेछौं’ प्रचण्डले भने, ‘मोर्चालाई अपिल यो ब्याटल हामीले जित्नैपर्छ । एउटै उद्देश्यप्रति समर्पित भएर लागेपछि परिकल्पनालाई साकार पार्न सबैको साथ अनिवार्य आवश्यक छ ।’
भ्रष्टाचार र अनियमितताविरुद्ध अघि बढ्दा समाजवादी मोर्चामा फाटो ल्याउने खोजिएको आरोप पनि उनले लगाए । ‘भ्रष्टाचार र अनियमितताविरुद्ध सरकार आक्रामक छ तर, समाजावादी मोर्चामा कसरी फाटो ल्याउन सकिन्छ भनेर षडयन्त्र भइरहेका छन्’ प्रचण्डले भने, ‘हाम्रो विश्वासको धरातल बलियो छ । सरकार, हाम्रो मोर्चा, जनता, युवा विद्यार्थीको हितमा लडाईंमा भएकोले हामी बलियो छौं ।’
शिक्षा, सामाजिक न्याय र नयाँ युगतिर देशलाई डोहोरोयेनउने नीति नबनेसम्म देशमा विकास नहुने उनको भनाइ छ । कागजमा मात्रै सीमित नभई शिक्षाको क्षेत्रमा छिट्टै गुणात्मक कदम चालिने पनि उनले प्रष्ट्याए ।
४ असारमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस), जनता समाजवादी पार्टी (जसपा) नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच मोर्चा घोषणा भएको थियो ।
यी चार दल आवद्ध विद्यार्थी संगठनमा माओवादीको अखिल क्रान्तिकारी, नेकपा एसको अनेरास्ववियु, जसपाको समाजवादी विद्यार्थी युनियन र नेकपाको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मोर्चा गठन गरेका हुन् । समाजवादी विद्यार्थी मोर्चाको नेतृत्व चारवटै संगठनले आलोपालो गर्ने तयारी गरेका छन् ।