२० असार २०८३, शनिबार

शपथग्रहण सँगसँगै मन्त्री नियुक्त गर्दै मुख्यमन्त्री थापा, प्रचण्डका ज्वाइँको नामले माओवादीमा विवाद

साउन १७, २०८०
विराटनगर
शपथग्रहण सँगसँगै मन्त्री नियुक्त गर्दै मुख्यमन्त्री थापा, प्रचण्डका ज्वाइँको नामले माओवादीमा विवाद

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज बुधवार बिहान साढे १० बजे शपथग्रहण गर्दैछन् ।

प्रदेश प्रमुखको कार्यालयले साढे १० बजेका लागि शपथ ग्रहणको तयारी भएको जनाएको छ ।

उनी मंगलवर मुख्यमन्त्रीमा नियुक्ति भएका थिए । आज बुधवारै मन्त्री नियुक्त गर्ने थापाको तयारी छ । पुरानै मन्त्रीहरूलाई निरन्तरता दिने उनले बताए ।

मन्त्री नियुक्तिबारे माओवादीभित्र भने विवाद छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाइँ समेत रहेका प्रदेशसभा सदस्य जीवन आचार्यलाई पटक–पटक मन्त्री बनाउन नहुने मत माओवादीभित्र बलियो छ तर पनि शक्तिको आडमा उनलाई मन्त्री बनाउने तयारीमा थापा रहेको स्रोतले जनाएको छ ।

निवर्तमान मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकार ढाल्न र उद्धव थापा नेतृत्वको सरकार बनाउन २ पटक नै आचार्यले भूमिका खेलेको भन्दै उनलाई मन्त्री बनाउने तयारीमा मुख्यमन्त्री थापा रहेका माओवादीकै एक सांसदले बताए ।

आचार्यलाई मन्त्रीमा सिफारिस गर्न थापाले माओवादीका नेताहरूसँग अनुरोध गरेको एक नेताले आफ्नो नाम नखुलाउने शर्तमा बताए । 

यसअघि कांग्रेसबाट प्रदीपकुमार सुनुवार, रामकुमार खत्री, माओवादीबाट जीवन आचार्य, राजेन्द्र कार्की मन्त्री बनेका थिए । उनीहरूमध्ये आचार्यले आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मा पाए पनि अरू मन्त्रीहरू जिम्मेवारीविहीन थिए ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको १६८ को उपधारा २ अनुसार कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएका थापालाई मंगलवार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

यसअघि असार २१ गते पहिलोपटक कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थापालाई सर्वोच्च अदालतले साउन ११ गते बिहीवार पदमुक्त गरेको थियो । मुख्यमन्त्री दाबी गर्दा प्रदेशसभा सभामुखको समेत हस्ताक्षर संलग्न गराएको विषयलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै नियुक्ति बदर गरेको थियो ।

यसपटक सभामुख बाबुराम गौतमले राजीनामा दिएर उनलाई बहुमत पुग्ने बाटो खोलिदिएका थिए ।

उनको हस्ताक्षरकै कारण अदालतले मुख्यमन्त्री थापालाई बर्खास्त गरेपछि उनको राजीनामा सत्ता गठबन्धनका निम्ति अन्तिम विकल्प बनेको हो । २६ दिनमा दोस्रोपटक मुख्यमन्त्री बनेका थापाले विश्वासको मत लिन भने चुनौती छ ।

salt training

कमेन्ट गर्नुहोस्