०४ साउन २०८३, सोमबार

सुन तस्करीसम्बन्धी समाचारलाई लिएर लोकान्तरका स्तम्भकार उजिर मगरलाई धम्की, महासंघको आपत्ति

साउन १८, २०८०
काठमाडौं
सुन तस्करीसम्बन्धी समाचारलाई लिएर लोकान्तरका स्तम्भकार उजिर मगरलाई धम्की, महासंघको आपत्ति

नेपाल पत्रकार महासंघले लोकान्तर डट्कमका स्तम्भकार एवं महासंघका पूर्वमहासचिव उजिर मगरलाई लोकान्तरमै प्रकाशित सुन तस्करीसम्बन्धी समाचारको विषयलाई लिएर आएको ज्यान मार्ने धम्कीप्रति आपत्ति जनाएको छ ।

सुन तस्करीको आरोपमा पक्राउ परेका दावा छिरिङ र उनकी पत्नी अमला रोकाका सम्बन्धमा लेखेको समाचारलाई लिएर खुलेआम धम्की आउनुले पत्रकारको सुरक्षाको विषय गम्भीर बनेको ठहर समेत महासंघले गरेको छ ।

महासंघका महासचिव रोशन पुरीले बिहीवार एक विज्ञप्ति प्रकाशित गरी पत्रकारलाई ज्यान मार्ने धम्की दिइएको घटनालाई गम्भीरतापूर्वक लिई दोषीमाथि कारबाही गर्न र पत्रकारको सुरक्षामा गम्भीर हुन सरकारसँग जोडदार माग गरेका हुन् । 

मगरले २०८० साउन १६ गते मंगलवार लोकान्तर डट्कममा ‘सुनकाण्डमा माओवादीका रोल्पाली नेतालाई टाउको दुखाइ बनेकी थबाङकी अमला’ शीर्षकमा सुन तस्करीमा संलग्न भनी अनुसन्धानका लागि पक्राउ परेका तिब्बतीयन मुलका बेल्जियन नागरिक दावा छिरिङ र शहीदपत्नी भनिएकी अमला रोकाबारे खोजमूलक स्टोरी लेखेका थिए । 

हेर्नुहोस् स्टोरीः​

सुनकाण्डमा माओवादीका रोल्पाली नेतालाई टाउको दुखाइ बनेकी थबाङकी अमला

सोही विषयलाई लिएर अनुसन्धानका लागि पक्राउ परेका दावा छिरिङकी पत्नी अमला रोकाका बहिनी ज्वाइँ (बिन्दु बुढाका श्रीमान) बागलुङ, ढोरपाटन–४ का वर्ष ४६ का खगेन्द्र छन्त्याल, कमलाकी भाञ्जी दीपा श्रेष्ठ र दाइ अमरले आफूलाई ज्यान मार्ने धम्की दिनुका साथै सामाजिक सञ्जालबाट बदनाम गर्ने काम गरिरहेको पूर्वमहासचिव मगरले महासंघलाई जानकारी गराएका थिए । 

छिरिङसँग नाता जोडेका खगेन्द्र छन्त्यालले आफूलाई ‘जहाँ भेटिन्छ, त्यहीँ मार्ने’ धम्की दिँदै आएको मगरले जानकारी दिएका छन् । विदेशमा रहेका केही व्यक्तिले सामाजिक सञ्जालमार्फत समेत धम्की दिएका थिए । 

समाचारप्रति चित्त नबुझे त्यसउपर कानूनी उपचार खोज्न सकिने प्रावधान र स्थापित पद्धति हुँदाहुँदै पत्रकारलाई ज्यान मार्ने धम्की दिनु र सामाजिक सञ्जालमा बदनाम गर्ने काम हुनु अत्यन्त निन्दनीय तथा प्रेस स्वतन्त्रताको ठाडो उल्लघंन भएको महासंघले जनाएको छ ।

हेर्नुहोस्, विज्ञप्तिः 

कमेन्ट गर्नुहोस्