
जनमत पार्टीको केन्द्रीय समिति बैठक काठमाडौंमा बसेको छ । बिहीवार काठमाडौंमा केन्द्रीय समिति, राजनीतिक समिति र केन्द्रीय कार्यकारिणी समितिको बैठकमा एकैपटक बसेको हो । बैठकमा सरकारमा सहभागी हुने/नहुने मुख्य एजेण्डा रहेको छ ।
बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) ले सरकारमा सहभागी हुने एजेण्डासहित बैठक बस्न लागेको बताए । उनले संगठन सुदृढीकरण अभियानलाई प्रभावकारी बनाउने विषय रहेको पनि बताए ।
उनले भने, ‘केन्द्रीय समिति, राजनीतिक समिति र केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्यो । हाम्रो मुल एजेन्डा भनेको संगठन सुदृढीकरण,अभियान चल्दैछ । त्यसलाई कसरी प्रभावकारी बनाउने विषयमा केन्द्रित छ । विभिन्न समितिमा मनोनीत गर्नुपर्ने नामहरू मनोनीत गर्न र विभिन्न विभाग गठन गर्न बैठक बसेको हो । सरकारमा सहभागिताको विषयमा पनि छलफल हुनेछ ।’
अध्यक्ष राउतले पार्टीको बैठकमा पार्टीका विभिन्न समितिमा मनोनीत गर्नुपर्ने सदस्यहरू, विभिन्न विभाग गठनको विषयमा पनि छलफल हुने जानकारी दिए ।