
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकको विकासका लागि भ्रष्टाचार र दण्डहीनताको अन्त्य हुनुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन काठमाडौं शाखाले बिहीवार आयोजना गरेको नवौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई ‘प्रमाणपत्र वितरण तथा पदस्थापन’ कार्यक्रममा उनले भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्दै सुशासन कायम गर्न सके मुलुकको विकास हुने बताए ।
‘देशमा अराजकता र दण्डहीनता बढिरहेको छ,’ उनले भने । नेता डा. कोइरालाले प्रहरीलाई बाहिर राखेर राजस्व अनुसन्धान विभागलाई मात्र संलग्न गराई सुन तस्करी प्रकरणको अनुसन्धान गर्नुले आम जनमानसमा आशंका उब्जिएको बताए । उनले प्रहरीलाई अनुसन्धानमा संलग्न नगराई राजस्व अनुसन्धान विभाग मात्रै संलग्न गराउनुको कारण सञ्चारमाध्यमले खोज्नुपर्ने उल्लेख गरे ।
भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरण अहिले सुन प्रकरणपछि सेलाएको नेता कोइरालाको भनाइ थियो ।
नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले प्रेस युनियनलाई चलायमान बनाउँदै श्रमजीवी पत्रकारको मुद्दा समाधानमा वर्तमान केन्द्रीय समिति लागिपरेको बताए । उनले प्रेस युनियनले २०८० साललाई प्रशिक्षण वर्ष घोषणा गरेकाले यसलाई सफल बनाउन सबै लाग्नुपर्ने बताए ।
नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय महासचिव अजयकुमार राईले श्रमजीवी पत्रकारका मुद्दामा लड्न नेपाल ट्रेड युनियन कांग्रेस प्रेस युनियनसँगै रहेको बताए । उनले न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोेकेको तलब समेत पत्रकारले नपाएको उल्लेख गर्दै न्यूनतम पारिश्रमिक निर्धारणका लागि नेपाल ट्रेड युनियन कांग्रेस लाग्ने स्पष्ट पारे ।
नेपाल प्रेस युनियनका उपाध्यक्षद्धय नकुल अर्याल र जीवन भण्डारी, महासचिव दिलीप पौडेल, पूर्ववरिष्ठ उपाध्यक्ष दामोदरप्रसाद दबाडी, उपत्यका प्रतिष्ठान प्रदेशका अध्यक्ष लीलाराज खनाल लगायतले अर्को वर्ष हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाल प्रेस युनियनका उम्मेदवारलाई विजयी गर्ने गरी युनियनलाई बलियो बनाएर अगाडि बढ्नुपर्ने बताए ।