०४ साउन २०८३, सोमबार

आज यी जिल्लाका नदीमा बहाब बढ्ने, आइतवादेखि बाढीको उच्च जोखिम

साउन १९, २०८०
काठमाडौं
आज यी जिल्लाका नदीमा बहाब बढ्ने, आइतवादेखि बाढीको उच्च जोखिम

आज (शुक्रवार) देशका विभिन्न जिल्ला भई बहने नदी तथा स-साना खोलामा बहाब बढ्ने सम्भावना छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, अछाम, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर बैतडी र दार्चुला आसपास भई बहने नदीहरूमा बहाव बढ्ने सम्भावना छ । यी क्षेत्र भइ बहने साना नदी तटीय क्षेत्रहरूमा सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

आज र भोलि देशका अधिकांश नदीहरूको बहाव सामान्य अवस्थामा रहने महाशाखाले जनाएको छ । साउन २१ गतेदेखि देशका अधिकांश नदीहरूको बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान रहेको छ । 

आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहने भए पनि पर्सि (आइतवार)बाट देशका अधिकांश नदीहरूको जलसतह उल्लेख्य बढ्ने महाशाखाले जनाएको छ । 

हाल नेपालमा मनसुनी वायुको प्रभावका साथै उत्तरी छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । 

मौसम पूर्वानुमान महाशाखाले शुक्रवार देशका पहाडी भूभागका केही स्थानहरू र बाँकी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ ।

शुक्रवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई भूभाग र मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको जनाएको छ । 

भारी वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय र हावाहुरी जस्ता प्रकोप हुन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्