३० असार २०८३, मंगलबार

स्काई वाकका लागि सबै कानूनी प्रक्रिया पूरा गरेका छौं : वन्डर्स नेपाल

साउन २१, २०८०
काठमाडौं
स्काई वाकका लागि सबै कानूनी प्रक्रिया पूरा गरेका छौं : वन्डर्स नेपाल
फाइल फोटो

वन्डर्स नेपाल प्रालिले काठमाडौंको कमलादीमा सञ्चालनमा ल्याएको ‘स्काई वाक’ का लागि सबै कानूनी मापदण्ड र प्रक्रिया पूरा गरेको जनाएको छ । 

यसका लागि योजना अनुमति, उचाइ अनुमति, नक्सा पास, निर्माण अनुमति तथा भवन निर्माण सम्पन्न प्रमाणपत्र, वातावरणीय प्रभाव मूल्यांकन अनुमति र सञ्चालन इजाजतपत्र लगायतका सरकारी मापदण्ड पूरा गरिसकेको वन्डर्स प्रालिले स्पष्ट पारेको छ ।

स्काई वाक आधिकारिक रुपमा सञ्चालनमा आएको एक महिना पुगेको अवसरमा वन्डर्स प्रालिले स्वदेशी र विदेशी पर्यटकहरूको उल्लेख्य उपस्थिति रहेको भन्दै आफूहरू उत्साही भएको पनि वन्डर्स प्रालिले जनाएको छ ।

‘नेपाल सरकार, काठमाडौं महानगरपालिका तथा मातहतका निकायहरूबाट पूरा गर्नुपर्ने सम्पूर्ण कानूनी प्रक्रियाहरू जस्तै : श्रम, सुरक्षा, पार्किङ र हाम्रो समाजमा स्थापित आधारभूत मान्यताहरू समेतलाई पूर्ण रुपमा आत्मसाथ गर्दै हामीले हाम्रो व्यवसाय सञ्चालनमा ल्याएका हौं र आगामी दिनहरूमा पनि नीतिगत तथा प्रक्रियागत पक्षहरूलाई पूर्ण रुपमा परिपालना गर्न हामी प्रतिबद्ध छौं,’ वन्डर्स प्रालिले भनेको छ, ‘हामीले व्यवसाय सञ्चालनमा ल्याएर त्यसवापत नेपाल सरकार तथा काठमाडौं महानगरपालिकालाई कानून बमोजिम कर तिर्दै राजश्व संकलनको प्रक्रियामा आबद्ध हुन पाउँदा हामीलाई गौरव लागेको छ ।’

स्काई वाक भ्रमण गर्ने आगन्तुक, यस व्यवसायलाई सञ्चालनमा ल्याउन सहयोग गर्ने कम्पनीका शेयरधनी तथा कर्मचारीहरू, नेपाल सरकार, काठमाडौं महानगरपालिकासहित मातहतका निकाय तथा स्थानीयहरूलाई सञ्चालक कम्पनीले धन्यवादसमेत दिएको छ ।

यस्तो छ वन्डर्स नेपालको विज्ञप्ति

आदरणीय महानुभाव ज्यूहरू,

यस ‘वोन्डर्स नेपाल प्रालि’ ले काठमाडौंको कमलादीमा आधिकारिक रुपमा सञ्चालनमा ल्याएको ‘स्काई वाक’ले आफ्नो सञ्चालनको एक महिना पूरा गरेको छ । विगत ५ वर्षदेखिको अथक प्रयास र मेहनेतका बाबजुद कोभिड महामारी तथा  आर्थिक मन्दीको मार खेप्दै हामी अहिले नेपालकै लागि नवीन मानिने स्काई वाक सञ्चालन गरिरहेका छौं । हाम्रो शुभारम्भको पहिलो एक महिना बित्दा नबित्दै स्वदेशी तथा विदेशी पर्यटकहरूको उल्लेख्य संख्यामा भएको भ्रमणले हामी उत्साहित भएका छौं ।

काठमाडौं उपत्यका विकास प्राधिकरणबाट योजना अनुमति, नागरिक उड्डयन प्राधिकरणबाट उचाइ अनुमति, काठमाडौं महानगरपालिकाबाट नक्सा पास, निर्माण अनुमति तथा भवन निर्माण सम्पन्न प्रमाणपत्र, वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्यांकन अनुमति, पर्यटन विभागबाट सञ्चालन इजाजत पत्र समेत प्राप्त गरी‘स्काई वाक’ यही मिति २०८० असार १५ गतेबाट सञ्चालनमा आएको व्यहोरा पुनः सबैलाई स्मरण गराउन चाहन्छौं ।

नेपाल सरकार, काठमाडौं महानगरपालिका तथा मातहतका निकायहरूबाट पूरा गर्नुपर्ने सम्पूर्ण कानूनी प्रक्रियाहरू जस्तैः श्रम, सुरक्षा, पार्किङ र हाम्रो समाजमा स्थापित आधारभूत मान्यताहरू समेतलाई पूर्णरुपमा आत्मसाथ गर्दै हामीले हाम्रो व्यवसाय सञ्चालनमा ल्याएका हौं र आगामी दिनहरूमा पनि नीतिगत तथा प्रक्रियागत पक्षहरूलाई पूर्णरुपमा परिपालना गर्न हामी प्रतिबद्ध छौं । अर्कोतर्फ हामीले व्यवसाय सञ्चालनमा ल्याएर त्यसवापत नेपाल सरकार तथा काठमाडौ महानगरपालिकालाई कानून बमोजिमको कर तिर्दै राजश्व संकलनको प्रक्रियामा आबद्ध हुन पाउँदा हामीलाई गौरव लागेको छ ।

अन्त्यमा, यस स्काई वाक सञ्चालन पश्चात यहाँ भ्रमण गर्नु हुने महानुभावहरू, यस व्यवसायलाई सञ्चालनमा ल्याउन  सहयोग गर्नु हुने यस कम्पनीका सम्पूर्ण शेयरधनी तथा कर्मचारीहरू, नेपाल सरकार, काठमाडौं महानगरपालिकासहित मातहतका निकाय, स्थानीय बासिन्दा, सञ्चारमाध्यम, व्यवसायिक साझेदारसहित आम नागरिकहरू सबैमा वोन्डर्स नेपाल प्रालिको तर्फबाट हार्दिक धन्यवादसहित आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि तपाईंहरू सबैको साथ, सहयोग र समर्थनको अपेक्षा गरेका छौं ।

धन्यवाद, नमस्कार !

salt training

कमेन्ट गर्नुहोस्