
चर्चित सुन तस्करी प्रकरणमा आज सोमवारदेखि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गर्ने भएको छ ।
पक्राउ परेका १७ जना आरोपीलाई आइतवार साँझ राजस्व अनुसन्धान विभागबाट सीआईबीको हिरासतमा ल्याइएको छ ।
राजस्व अनुसन्धान विभागबाट थप मिसिल अध्ययन र अनुसन्धानका गर्न भन्दै पत्र आएसँगै सबै अनुसन्धानका मिसिल र आरोपीहरूलाई पनि आइतवार साँझ सीआईबीमा ल्याइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए ।
‘आरोपीसहित मिसिलहरू आइपुगेको छ, अब सोमवार अनुसन्धान अधिकृत तोकेर मिसिलको अध्ययन तथा थप अनुसन्धान अघि बढ्छ,’ उनले भने ।
यसअघि बिहीवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिन निर्देशन दिएका थिए । उनको निर्देशनलगत्तै आवश्यक प्रक्रिया पुर्याएर थप अनुसन्धानको जिम्मा सीआईबीलाई हस्तान्तरण गरिएको छ ।
सुन प्रकरणमा अब सीआईबीले आर्थिकलगायत संगठित र अन्तरदेशीय अपराधको सन्दर्भमा पनि अनुसन्धान थाल्नेछ ।
विभागले साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’मा हालेर ल्याइएको अन्दाजी १०० किलो सुन बरामद गरेको थियो । सुनको परिमाण यकिन गर्न अहिले नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको छ ।
अहिलेसम्म घटनामा संलग्न रहेको आरोप १८ जना पक्राउ परेकामा बिरामीका कारण १ जनालाई तारिखमा छाडिए पनि १७ हिरासतमा छन् ।
विभागका महानिर्देशक नवराज ढुंगानाले विभागबाट एक चरणको अनुसन्धान सकिएको र अब बाँकी अनुसन्धानका लागि सीआईबीलाई जिम्मा दिइएको बताए ।