
नेपाली कांग्रेसको संस्थापनले एकलौटी रूपमा १३ जिल्लाका महिला संघ अध्यक्ष हटाएको भन्दै डा. शेखर कोइराला पक्षले आपत्ति जनाएको छ । तेस्रो अधिवेशनबाट निर्वाचित जिल्ला अध्यक्षलाई एकलौटी हटाएको भन्दै शेखर पक्षले समानान्तर समिति बनाउने चेतावनीसमेत दिएको हो । महिला संघका अध्यक्षले विभिन्न १३ जिल्लाका अध्यक्षलाई कसैसँग पनि परामर्श नगरी हटाएकी थिइन् ।
एकपछि अर्को गर्दै जिल्ला अध्यक्ष हटाउन थालेपछि शेखर समूहले सभापति शेरबहादुर देउवासहित महामन्त्रीहरूको ध्यानाकर्षण गराएका थिए । तर अझै पनि जिल्ला अध्यक्ष हटाउने क्रम नरोकिएपछि उनीहरूले केन्द्रदेखि जिल्लासम्म समानान्तर समिति बनाउने चेतावनी दिएका हुन् ।
डा. कोइरालाको ध्यानाकर्षण गराएपछि उनले पनि केन्द्रदेखि जिल्लासम्म समानान्तर समिति चलाउनेसम्मको निर्देशन दिएका हुन् ।
पार्टीभित्र अराजकता बढ्यो, यसरी विधानविपरीत जाने छुट कसैलाई छैन’ कोइरालाले निर्देशन दिँदै भने, ‘उस्तै परे केन्द्र देखि जिल्ला तहसम्म महिला संघको समानान्तर समिति चलाउने सम्मको तयारी गर्न निर्देशन दिएका छन् ।’
केन्द्रीय सदस्य रिता शाहीले विधानविपरीत १३ जिल्ला अध्यक्षलाई हटाएर नयाँलाई जिम्मेवारी दिइएको जानकारी दिइन् । ‘सोलुखुम्बु, पर्सा, बारा, सिराहा, सप्तरी, महोत्तरी, कास्की, हुम्ला, झापा, इलाम, ताप्लेजुङ, रौतहट, नवलपरासी जिल्लाका महिला संघ अध्यक्ष एकपछि अर्को गर्दै हटाइएको छ । यो विधानविपरीत भयो भनेर सभापतिदेखि सबै नेताको ध्यानाकर्षण गराइएको छ’ शाहीले भनिन्, ‘विधानविपरीत भएका काम हामीलाई मान्य छैन । हामी पत्रकार सम्मेलन गर्दैछौं । निर्णय नसच्याए आवश्यक पर्दा केन्द्रदेखि जिल्लासम्मै समानान्तर समिति बनाउँछौं ।’ अनुपम फुडल्याण्डमा पत्रकार सम्मेलन गर्दै विधान विपरीतका कदम सच्याउन दबाब दिने तयारी शेखर पक्षले गरेको छ ।
राउतले जिल्ला अधिवेशन गराउने भन्दै निर्वाचितलाई हटाएर एकलौटी रूपमा तदर्थ समिति बनाएकी हुन् ।
अध्यक्ष राउतले बारामा सीता मैनाली, पर्सामा विद्या श्रेष्ठ, सिराहामा विमला निरौलालाई हटाएर नयाँ अध्यक्ष चयन गरेकी हुन् । त्यस्तै, सोलुखुम्बुमा छिल्हामु शेर्पा, महोत्तरीमा विना तिवारी, रौतहटमा भुवनी गिरी, ताप्लेजुङमा मीना गुरुङ, झापामा सुशीला ढकाल र हुम्लामा विजया बुढा इलाममा निर्मला सञ्जेल, कास्कीमा कोपिला रानाभाटलाई हटाउँदै राउतले नयाँ अध्यक्ष चयन गरेपछि आफूहरूले आपत्ति जनाएको जानकारी केन्द्रीय सदस्य शाहीले दिइन् ।
संघका संस्थापन इतरका २० केन्द्रीय सदस्यले कुनै छलफल र परामर्शविना एकलौटी गरिएको विधान विपरीतको कार्य सच्याउन तीन दिनको समय दिएको छ । अन्यथा देशैभरि समानान्तर समिति बनाउने चेतावनी उनीहरूले दिएका छन् ।